हे मानव ! कृपया प्रकृतिभन्दा ठुलो आफुलाई कहिल्यै नठान्नुस्



ज्योति झा– विगत करिव ३ महिनादेखि हाम्रो जिवनशैली र रहन सहन सबै बदलिएको छ । संसारभरका लाखौं व्यक्ति कोरोना भाईरसबाट संक्रमित भएका छन् भने लाखौँले आफ्नो ज्यान समेत गुमाईसकेका छन् ।

चीनको वुहानमा उदगम भएको यस भाईरसले महामारीको रुप लिंदै अहिले समग्र संसारलाई नै तहसनहस बनाईदिएको छ । विश्वका अधिकांश देश अहिले बन्दाबन्दी अर्थात लकडाउनको मार खेपिरहेको यथार्थ सर्वविदित नै छ । यस भाईरसले अहिले आम सर्वसाधारणको जिवनशैली र सम्बन्ध माथि समेत प्रभाव पारेको छ । खासमा यसले अमेरिका जस्तो सुपरपावर भएको देशको समेत हालत खराब गरिदिएको छ । तर यो कुरा पनि सत्य छ कि लकडाउन प्रकृतिका लागि वरदान साबित भएको छ । यसले वातावरणलाई सफा र स्वच्छ गरिदिएको छ ।

लकडाउनका कारण सबै उद्योग र कलकारखानाहरू बन्द छन् । यातायातका साधनहरु बन्द छन् । कार्बन उत्सर्जन रुकेको छ । धेरै देशमा बिगतका बर्षहरुको तुलनामा यस बर्ष प्रदुषण ५० प्रतिशतले कम भईसकेको छ । तर यसको नकारात्मक प्रभाव पनि कम छैन् । यसले गर्दा अन्तराष्ट्रियस्तरमा अर्थव्यवस्थालाई भारी धक्का दिएको छ भने धेरै मानिस बेरोजगार भएका छन् । महिला हिंसा बढेको छ । बालबालिकाहरुको पढाई लेखाई प्रभावित भएको छ ।

लकडाउनका कारण सबैभन्दा बढि समस्या गरीब र विपन्नलाई भईरहेको छ । दैनिक ज्यालादारी गर्ने व्यक्तिहरू भोकभोकै बस्न बाध्य भएका छन् । एक व्यक्ति अर्को व्यक्तिसँग डराउन थालेका छन् । कोरोना भाईरस जातिय छुवाछुत जस्तो हो कि भन्ने कुरा धेरैको मानसपटलमा छ ।

धनि वर्ग झन धनि बन्दै गएका छन् भने गरीब झन गरीब । रोग भन्दा पहिले भोकले मर्ने हो कि भन्ने चिन्ताले गरीबहरुलाई सताउन थालेको छ । गरीबलाई जे अलिकति पनि राहतको आशा हुन्छ त्योपनि नेताका कार्यकर्ता र नातागोताको घरसम्म पुगिरहेको हुन्छ ।

रोजगारी छैन्,पैसा छैन् तर दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ । सरकारी जागिरमा रहेका व्यक्तिलाई त अलिकति राहत भएपनि प्राईभेट जागिरेहरु विचल्लिमा छन् । कोठाभाडा लिएर बसेका व्यक्तिलाई न त जागिर छ न घरधनिलाई तिर्ने भाडा नै । उता बैंकलाई तिर्नुपर्ने किस्ता र हातमुख जोडनका लागि आवश्यक रकमको जोहो गर्न समेत धौ–धौ ।

सरकारले लकडाउन गर्न बाहेक केहि गर्न सकेको छैन् । क्वारेन्टाइन र आईसोलेशनको व्यवस्थापन पनि लाजमर्दो छ । क्वारेन्टाइनमा बसेका व्यक्तिका लागि खरिद गरिएको सामान कतिपय जनप्रतिनिधिको घरमा लक छ । अर्थात कोरोनाको नाममा पनि भ्रष्टाचार भईरहेको स्पष्ट छ । अनुगमन गर्ने कुनै निकाय छैन् । सबै भगवान भरोसे । हे भगवान !

मन्त्रीदेखि सांसदसम्म र मेयरदेखि कर्मचारीसम्म सबैले लकडाउनको भरपूर फाईदा उठाईरहेका छन् । खै वहाँहरुलाई पैसा भएपछि रोग नलाग्ने हो कि ?

मानिसको शरीरमा कोरोनासँग लड्नका लागि ईम्यूनिटी पावर आवश्यक हुन्छ अरे ! तर यो फेरि सम्भव कसरी गर्ने हजूर ? शरीरको ईम्यूनिटी पावर बढाउन पोषिलो खाना आवश्यक हुन्छ भने पोषिलो खानाका लागि पैसाको आवश्यकता पनि हुँदैन् र भन्या ?

एकजना निको भएर हुँदैन् बल्कि सबैजना स्वस्थ्य र कोरोनामुक्त भए मात्र हामी सुरक्षित हुन सक्छौं । त्यसैले स्वार्थ,अपहेलना,भ्रष्टाचार लगायतका गतिविधीको परित्याग गरि एक अर्कालाई सहयोग गरौं । भ्रष्टाचार गरेर कमाएको करोडौं रुपैयाँ स्थायी सम्पत्ती हुँदैन् । यो संसारमा कोहि ठुलो छ भने त्यो हो प्रकृति । जसलाई नष्ट गरेर हामी अहिले ठुलठुला महल बनाईरहेका छौं । भ्रष्टाचारको सिमालाई पार गरि मानवताको घाँटी निचोडेर लुटतन्त्र मचाईरहेका छौं । हे मानव ! कृपया प्रकृति भन्दा ठुलो आफुलाई कहिल्यै नठान्नुस ।

प्रकृतिले समय समयमा हामीलाई सचेत गराउँदै आईरहेको सर्वविदित छ । कहिले विनाशकारी भुकम्प,कहिले बाढिपहिरो त कहिले प्राकृतिक प्रकोप । अहिले हामी कोरोनाको महामारीबाट गुज्रिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्