पीसीआर मेसिन खरीद गर्न उद्योगि व्यापारीद्वारा वीरगन्ज महानगरपालिकालाई ७० लाख सहयोग



वीरगन्जः पीसीआर मेसिन खरीद गर्नका लागि वीरगन्जका उद्योगि व्यापारीहरुले वीरगन्ज महानगरपालिकालाई ७० लाख सहयोग गरेका छन् ।

वीरगन्ज महानगरपालिकाले कोरोना भाइरस परीक्षण गर्नको लागि पीसीआर मेसिन र विटिएम किट खरीद गर्नको लागि संचालन गरेको अभियानमा सहयोग जुटाउँन वीरगन्जका ठूला ठूला उद्योगी व्यवसायीहरु अगाडी बढेका हुन् ।

मंगलबार महानगरपालिकाले आयोजना गरेको पीसीआर मेसिन खरीदका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान सम्बन्धी सम्झौता कार्यक्रममा यहाँका ठूल ठूला उद्योगी व्यवसायीले लाखौ रुपैया सहयोग गरेका हुन् ।

वीरगन्ज उद्योग वाणिज्य संघ सहितका यहाँका ठूला घारानाका उद्योगि व्यवसायीले ७० लाख ११ हजार १ सय ११ रुपैया पीसीआर मेसिन तथा भिटिएम किट खरीद गर्न सहयोग स्वरुप महानगरपालिकालाई सो रकम उपलब्ध गराएको हो ।

पीसीआर खरीदको लागि उद्योग वाणिज्य संघले ११ लाख ११ हजार १ सय ११ रुपैया, उद्योगपति विरेन्द्र संघाईले २० लाख, चाचान ग्रुपका बाबुलाल चाचानले १० लाख, राजेश अग्रवाल ६ लाख, हिरालाल केडिया ५ लाख, आत्मराम काँबरा ५ लाख, मुर्लीधर रुंगटा ५ लाख, अनिल रुगंटा ५ लाख, अशोक बैद्य २ लाख, चिरन्जीवि सरावगी १ लाख गरी कुल ७० लाख ११ हजार १ सय ११ रुपैया उपलब्ध गराएका हुन ।

व्यापारीले उपलब्ध गराएको रकम संस्थागत रुपमा संघका अध्यक्ष गोपाल केडियाले महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई उपलब्ध गराउँने सम्झौता गरेका छन । वीरगन्जवा सीहरुको तिव्ररुपमा चेकजाँच गर्नको पीसीआर मेसिन र भिटिएम किट खरीद गर्नको लागि सो रकम उपलब्ध गराईएको उनले बताए ।

उनले भने, कोभिड १९ को महामारीबाट छुटकारा पाउँनको लागि र यसलाई नियन्त्रणमा लिई जनजिवन समान्य बनाउँनको लागि व्यापक रुपमा पीसीआर परीक्षण हुन आवश्कय रहेको छ । नारायणी अस्पतालमा रहेको एकथान पीसीआर मेसिनबाट स्वाब परीक्षण गर्न सम्भव नरहेकोले अर्को मेसिनको आवश्यकता अनुसार मेसिन खरीदको लागि आर्थिक सहयोग जुटाएको उनले बताए ।

सम्झौता अनुसार प्रथम पक्ष भनिएका वीरगन्ज महानगरपालिकाले १५ दिनभित्र पीसीआर मेसिन खरीद गरी कोभिड परीक्षणको लागि नारायणी अस्पतालमा जडान गर्ने छ र दोश्रो पक्ष उद्योग वाणिज्य संघ वीरगन्जले महानगरपालिकाको कोरोना कोषमा जम्मा हुने गरी ७० लाख ११ हजार १ सय ११ रुपैया चेकमार्फत उपलब्ध गराउँने छ ।

दोश्रो पक्षले उपलब्ध गराएको रकम महानगरपालिकाले पीसीआर मेसिन खरीद, जडान र संचालन बाहेक अरुका खर्च गर्न पाउँने छैनन्, संघका अध्यक्ष केडियाले भने, यसको स्वामित्व र महामारी पश्चात जनहितमा पनि प्रयोग महानगरपालिकाले नै गर्नुपर्ने छ ।

कार्यक्रममा वीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगीले पर्सा जिल्लालाई ग्रिन जोन बनाउँनको लागि व्यापक रुपमा पीसीआर परीक्षण हुन आवश्यकता औल्याएका छन । उनले व्यापक रुपमा माक्स ट्रेसीङ्ग गर्न काठमाण्डौ र भरतपुर सम्भव छैन यसको लागि वीरगन्जमै व्यवस्था गर्नुपर्ने बताए ।

भारतबाट आएकाहरुमा नै कोरोना संक्रमण फैल्ने क्रम जारी रहेको छ । अहिले पनि विभिन्न क्वारेन्टाईनमा रहेका मध्येबाट नै कोरोनाको संक्रमण देखा देखा परेको हुनाले यसको नियन्त्रणको लागि व्यापक रुपमा परीक्षण हुन आवश्यकता रहेको उनले बताए ।

नारायणी अस्पतालमा जडान गरिएको पीसीआर मेसिनले एक दिनमा १ सय भन्दा बढी स्वाब टेस्ट हुन सक्दैन, महानगरपालिकाले जडान गर्न अटोमेटिक पीसीआर मेसिनले दैनिक रुपमा २ हजार देखि ३ हजार सम्म टेस्ट गर्न सक्ने भएकोले यसको लागि दक्ष जनशक्ती संघ र प्रदेश सरकार संग समेत माँग गरी सकेको छौ । यदी सरकारले जनशक्ती उपलब्ध नगराए महानगरपालिकाले नै यसको व्यवस्था गर्ने उनले बताए ।

वीरगन्जलाई जुन किसिमले माया गर्नुपर्नेमा संघ र प्रदेश सरकारले गरेको छैन अहिले पनि कुनै सहयोग नगरेकै कारण कोभिड १९ अस्पताल महानगरपालिकाले नै संचालन गर्दै आएको उनले बताए । सबैको साथ र सहयोग भयो भने, एक लाख जनाको स्वास्थ्य परिक्षण गर्ने तयारी गरेको उनले बताए ।

मेयर सरावगीले ११० जना पर्सेली संचारकर्मीहरुको समेत स्वास्थ्य विमा गरेको सम्झौता पत्र नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारालाई बुझाएका छन । कोभिड १९ को नियन्त्रण र रोकथाममा ज्यानको खोजिम लिएर जनतालाई सचेतना फैलाउँने काम गरेको हुनाले महासंघका ११० जना पत्रकारहरुको १ लाखको स्वास्थ्य विमा गरेको उनले बताए ।

पीसीआर मेसिन खरीद गर्नको लागि महानगरपालिकाले स्थापना गरेको राहत कोषमा अहिले सम्म १ करोड ४७ लाख ८१ हजार ८ सय ९१ रुपैया जम्मा भएको छ । जसमध्ये बढी पर्साको पर्टेवा सुगौली गाउँपालिकाले २५ लाख, वीरगन्ज महानगरपालिकाकै कर्मचारी तर्फबाट १५ लाख ५४ हजार र सुर्य नेपाल प्रालिले १५ लाख रुपैया राहत कोषमा जम्मा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्