प्रदूषण गर्ने सवारीसाधन आयातमै रोक लगाउन आग्रह



काठमाडौं: ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोध गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 'ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९' विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोध गरेको महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताए।

२०७४ बैसाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो। उक्त घोषणा सुरुवाती समयमा धेरै मात्रामा लागू भए पनि हाल आएर पूर्णरुपमा भने लागू भएको छैन।

एकैदिन १७१ सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको छ। महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही प्रकृया अघि बढाएको हो। महाशाखाले आइतबार मात्र १ सय ७१ सवारीसाधनलाई कारबाही गरेको छ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारबाहीलाई तीव्रता दिएको महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए। महाशाखाले हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ३० हजार ४ सय ६८ सवारीसाधनलाई कारबाही गरिसकेको छ। महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारीसाधनबाट ५ सय रुपैयाँ कारबाहीस्वरुप लिँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस्