अाेरालाे लाग्दै डलर भाउ



काठमाडौं : केही दिनदेखि निरन्तर बढेकाे अमेरिकी डलरको भाउ विस्तारै ओरालो लाग्न लाग्न थालेकाे छ । नेपाल राष्ट्र बैंकले सोमबार अर्थात् अाजका लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १८ रुपैयाँमा झरेकाे छ । 

 

गत शुक्रबार १ बराबर १ सय १८ रुपैयाँ ९० पैसामा झरेको डलर भाउ त्यसको दुई दिनअघि बुधबार (असोज २४) मा इतिहासमै पहिलो पटक १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो । डलर भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । 

केन्द्रीय बैंकले अाज तोकेको अमेरिकी डलरको भाउ गत शुक्रबारको दाँजोमा ९० पैसाले सस्तिएकाे हाे । त्यसअघि बिहीबार १ डलर किन्न १ सय १९ रुपैयाँ ३ पैसा, बुधबार १ सय १९ रुपैयाँ ३३ पैसा र मंगलबार १ सय १८ रुपैयाँ ८० पैसा खर्चिनुपर्थ्या ।

 

अघिल्लो साता आइतबार र सोमबार १ अमेरिकी डलर खरिद गर्न १ सय १८ रुपैयाँ ३३ पैसा लाग्थ्यो । यसको अर्थ नेपाली रुपैयाँ सबैभन्दा कमजोर सावित भएको अवस्था हो ।

 

राष्ट्र बैंकका अनुसार सोमबारका लागि १ डलरबराबर १ सय १८ रुपैयाँ बिक्री दर र १ सय १७ रुपैयाँ ४० पैसा खरिद दर तोकिएको छ । डलरको भाउ दुई दिनदेखि विस्तारै ओरालो लाग्न थालेको छ ।

 

पछिल्ला केही दिन तलमाथि भइरहेको डलर भाउ असोज १८ मा १ बराबर १ सय १७ रुपैयाँ ६५ पैसा थियो । अमेरिकी डलर संसारभरका मुद्राको दाँजोमा पछिल्लो पटक सबैभन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ । 

 

किनभने भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर छ । यो साढे तीन दशकदेखिको दर हो । यस हिसाबले सोमबार १ अमेरिकी डलरबराबर भारु ७३ रुपैयाँ ७५ पैसा रहेको छ ।

 

राष्ट्र बैंकअनुसार असोज ३ गते डलरको भाउ १ बराबर १ सय १७ रुपैयाँ ७ पैसा पुगेको थियो भने त्यसको १० दिनअघि १ सय १६ रुपैयाँ २३ पैसाबराबर भएको थियो । डेढ महिनाअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँ हाराहारी थियो । 

प्रतिक्रिया दिनुहोस्