लकडाउनको ८० दिन वित्दा पनि पाएनन् पर्साका दलितले राहत



वीरगन्जः लकडाउन भएको ८० दिन वित्दा पनि पर्साका दलितले राहत पाएका छैनन् ।

सरकारले लकडाउनबाट प्रभावित अतिविपन्न घरपरिवारलाई राहत र कोरोना संक्रमणको रोकथाम र व्यवस्थापन गर्नको लागि १० अर्ब भन्दा बढी खर्च गरेको दावी गरेपनि त्यहाँका दलितले राहत पाउन सकेको छैनन् ।

पर्सा जिल्लामा १४ नगरपालिका गरि कुल ११२ वटा वडा छ । ११२ मध्ये १११ वडामा स्थानीय र प्रदेश सरकारबाट दुइ पटक राहत वितरण भइ सकेको छ । जिराभवानी गाउँपालिकाकै अरु ४ वटा वडामा पनि गाउँपालिकाले दुइ चरणमा राहत बाडि सकेको छ । तर वडा नम्बर ५ कै वडाका गरिब र दलितहरुले राहत पाउँन सकेको छैन ।

जनतालाई राहतको नाममा अहिले पनि एकमुठि चालम समेत पाएका छैन । लकडाउनको ८० दिन भइ सक्दा पनि सरकारी राहत कुरेर बसीरहेका छन स्थानिय दलित तथा गरिब जनताहरु । लकडाउनमा ज्याला मजदुरीको काम पनि बन्द छ । त्यसैले गाँउघरमा कसैले अ‍ैचोपैचो दिए त्यो दिन उनिहरुको घरमा चुल्हो बल्छ, नभए भोकै सुत्न बाध्य छन् उनिहरु । अरु सब वडामा दुइ दुइ पटक राहत पाइ सके, वडा नम्बर ५ शंकरसरैयाका दलित नानी महतो देवीले हाम्रो वडामा अहिले पनि राहत नपाएको गुनासो गरिन् ।

दलितवस्तीकै जयकिशुन पासवानले भने, अहिले सम्म सरकारले राहत बाडेको छैन, गाँउघरमा कसैले काममा बोलाए वा पैचो दिएका दिन चुल्हो बल्छ , नपाएका दिन भने पेट बाँधेर भोकै सुत्छौ । लकडाउन शुरु भएपछि चैतको अन्तिम सातामै वडा अध्यक्षले राहतका लागि फारम भरेर लगेको तर अहिले सम्म गाँउमा राहत बाड्न नआएको उनले गुनासो गरे ।

लकडाउनमा छोराको पनि काम बन्द छ , हामी बुढाबुढीको हातपाउ चल्दैन, बृद्ध जयकिसुनले भने ,पसलले अब उधारो दिन मान्दैन, बढिले यता उता बाट भीख मागेर ल्याएका दिन खान्छौ, नभए भोकै सुत्छौ ।

स्थानिय, उर्मावती देवीले अहिलेसम्म राहत नपाएको गुनासो गरीन् । उनले भनिन्, राहतको लागि गाउँपालिका घेराउ गर्दा गाउँपालिकाले भन्छ राहत आएको छैन कहाँ बाट राहत दिई भनि फर्काइ दिन्छ । अरु वडामा दुई पल्ट राहत वितरण भईसकेको छ तर हाम्रो गाउँमा अहिले पनि राहत वितरण भएको छैन, कस्तो सरकार छ, कि हामीलाई चिन्दैन जान्दैन किन राहत पठाएन सरकारले, उनले भनिन् नकमाउँन दिएको छ, काम गर्न जान खोज्दा भाईरस नै समात्छ भनेर काम गर्न दिदैन ।

हामी भुकै मरु, तपाईहरु लेखेर के हुन्छ, जो लेख्न आउँछ उसले नै राहत लिएर जान्छ तर हामीलाई अहिले पनि रासन नपाएको स्थानिय कलावती देवीले आक्रोशित हुदै गुनासो गरिन् । राहतको लागि पर्खि रहेका छौ तर अहिले सम्म राहत नपाएको उनको गुनासो छ । राहत नपाउँदा अरुको काम गरेर घर चलाउँने गरेका छौ जुन दिन काम पाउँछ त्यो दिन खान पाउँछ काम नपाएको दिन भोकै बस्नु परेको उनले ।

पेटभरि खान नपाएको अढाइ महिना भइ सक्यो, दुवै खुट्टा विकलांग भएका २२ वर्षिय शीवशंकर मुसहरले भने ,देखि हाल्नु भयो मेरो जीउ नै चल्दैन, भोकै परेका दिन बुढि आमा रोएरै रात बिताउँछिन् ।

बुढेसकालमा सहारा बन्नु पर्नेमा उल्टै बुढिमाउको लागि आफु बोझ भएको भन्दै, शीवशंकरले भने , आमाको आंशुले मलाइ पोल्छ तै पनि म केहि गर्न सक्दिन सारै लाचार छु । लकडाउनको ८० दिन भइ सक्दा पनि राहत नपाउँदा विकलांग शीवंकरका आमा छोरा झै ती वडाका अति विपन्न, गरिब र दलितहरुको बिजोग छ ।

जिराभवानी गाँपाको वडा नम्बर ५ का वडा अध्यक्ष दारा सिंह राउत थारुले राजनितिक पुर्वाग्रहले गाउँपालिकाले राहत नपाएको आरोप लगाए । वडा अध्यक्ष राउत राप्रपाबाट निर्वाचित हुन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बहुसंख्यक वडा अध्यक्ष तत्कालीन एमाले र हालको नेकपाबाट निर्वाचित हुन् ।

वडा नम्बर ५ को शंकरसरैया, हरैया, सखुवनीया र कडौंली गरि चार गाँउ छन् । ती चारै गाँउमा राहतको आवश्कयता रहेका ९ सय परिवारको सुची वडा अध्यक्षले तयार पारेर चैतको अन्तिम हप्तामै गाँपा कार्यालयमा पठाएका थिए । ९ सय मध्ये आधा भन्दा बढि दलित परिवार छन् ।
वडा अध्यक्ष दारा सिंह राउत थारुले भने ,गाँउपालिकाकै अरु ४ वटा वडामा दुइ चरणको राहत गाँपालिकाले पठाएर वितरण भइसकेको छ , तर हाम्रो वडामा राजनीतिक पुर्वाग्रहले राहत पठाइएको छैन ।

शंकरशरैयाका दलित परिवारलाई स्थानिय अभियानता प्रकाश थारुको सहयोगमा केहि राहत वितरण काम गरिएको थियो । थारुले आफनो पहलमा दलित परिवारलाई घर खर्च लगाउँन धौ धौ परिरहेको बेला चामल, दाल, नुन, तेल, आलु प्याज लगायतको खाद्यन्न उपलब्ध गराएर सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्