अाज दसैंकाे सातौं दिन अर्थात् फूलपाती 



काठमाडौं : दसैंको उल्लास सुरु भइसकेको छ। बुधबार विजयादशमीको सातौं दिन अर्थात् फूलपाती हो। साथै, देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याइँदैछ।

आज पूजाकोठामा फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नामका नवपत्रलाई भित्र्याउँने प्रचलन छ।

 

नौ पातमा पुस्तक, कापी, कलम, मसीदानी लगायतका विद्यार्थीसँग सम्बन्धित वस्तुहरुको पनि पूजा गर्ने प्रचलन छ।

 

ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा गरिने भएकाले फूलपातीलाई नवपत्रिकाको नामले पनि चिनिन्छ।

यसैगरी, हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।

 

गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

 

जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ।

 

घटस्थापनादेखि दसैं सुरु भएको मानिने भए पनि चहलपहल र रौनक भने आजैका दिनदेखि सुरु हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्