सेल्फी लिन हातमा कुचो र मुखमा मास्क 



जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाममा स्वच्छता अभियानका नाममा कुचो लिएर सेल्फी खिच्ने र ती फोटालाई सामाजिक सञ्जालमा राख्ने सौख चुलिएको छ । उच्च ओहोदामा भएका व्यक्तिहरू बढारकुँढार गरिरहेको सेल्फी आफैं पनि लिन्छन् भने अरूका सेल्फीमा कैद भएर सामाजिक सञ्जालमा भुल्न्नि । कुचो लिएर सेल्फी खिच्ने सर्वसाधारण युवाको संख्या बढ्याबढ्यै छ ।

सहरका टोलबस्ती र चोकगल्लीमा सरसफाइ गर्दै कहिले प्रदेशका मन्त्री र सांसदसँग त कहिले जिल्लाका प्रमुख अधिकारीसँग सेल्फी लिएर सामाजिक सञ्जालमा हाल्ने प्रवृत्तिले लतकै रूप लिइसकेको छ । प्रत्येक शनिबार सोसल मिडिया, स्थानीय रेडियो र टेलिभिजनमा तथा आइतबार स्थानीय पत्रपत्रिकामा सरसफाइसम्बन्धी खबर नै धेरैजसो प्रकाशित तथा प्रसारित हुन्छन् ।

केही दिनअघिसम्म प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र जनकपुरधाम उपमहानगरपालिका प्रमुख तथा उपप्रमुख फरकफरक गैरसरकारी संस्थाको अगुवाइमा आयोजना हुने स्वच्छता अभियानमा मुखमा मास्क र हातमा कुचो लिएर देखिने गर्थे । तर आजभोलि त्यस्ता कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल देखिने गरेका छन् । सामाजिक सञ्जालमा सरसफाइमा व्यस्त देखिने उनका तस्बिरहरू चर्चामा छन् ।

प्रजिअ कणेल साप्ताहिक स्वच्छता अभियानक्रममा शनिबारका दिन टोलटोलमा लावालस्करसिहत कुचो लिएर हिँड्न् । अझ स्थानीयलाई अबउपरान्त फोहोर गरे कारबाही गर्नेसम्मका चेतावनी दिन्छन् । तर उनी हाकिम भएकै जिल्ला प्रशासन कार्यालयनजिकका चोक र बाटाहरू फोहोरले भरिएका छन् । जिप्रकानजिकका कदमचोक, भानुचोक र शिवचोकलगायतका ठाउँमा फोहोर थप्रिँदै गएको छ ।

सरसफाइ स्वच्छताका अभियन्ताका रूपमै चिनिन थालेका प्रजिअ कणेललाई आफ्नै कार्यालयवरिपरि फोहोरको डंगुर भएको हेक्का छैन । स्थानीयले सडकमा फोहोर थुपारे एक लाख रुपैयाँसम्म जरिवाना र पसल सञ्चालन अनुमतिपत्र खारेज गर्नेसम्मका प्रतिबद्धता जनाउने प्रजिअले सहरका सडकपेटीमा थुपारिएको फोहोर नउठाउने निकाय जनकपुरधाम उपमहानगरपालिकालाई के कारबाही गरे भन्ने प्रश्न स्थानीयले तेर्साउन थालेका छन् ।

थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदा र २५ वटा वडा रहेका जनकपुरधाममा अहिले जानकी मन्दिर, वडा नम्बर १, ४ र ८ मात्र नियमित साप्ताहिक सरसफाइ अभियान सञ्चालन भइरहेका छन् । अरू वडामा सरसफाइ तथा स्वच्छता अभियानको झल्को पनि देखिँदैन ।

स्थानीय रामपुकार यादवले हप्तौंदेखि फोहोर नउठाउने उपमहानगरपालिकालाई कारबाही नभएकोमा खिन्नता व्यक्त गर्छन् । ‘सिडिओ साहब फेसबुक र लोकल पेपरमा समाचार छपाउने युवासँग सेल्फी खिचाएर सस्तो लोकप्रियता पाउन खोज्नुभएको छ,’ उनले भने । प्रजिअले फोहोर नउठाउने उपमहानगरपालिका र वडालाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । 

अर्का स्थानीय विनोद साहले भने सरसफाइप्रति आमजनतालाई जागरुक गर्नु राम्रो भए पनि सहरका एकाध टोलमा मात्र नभएर ग्रामीण बस्तीमा समेत अभियन्ताहरू पुग्नुपर्ने बताउँछन् । सोसल मिडियाबाजीबाट युवा जमातले सस्तो लोकप्रियता बटुल्न खोजेको उनको बुझाइ छ ।

प्रमुख जिल्ला अधिकारीमात्र होइन, प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसददेखि स्थानीय तह पदाधिकारीले समेत सोसल मिडियामा छाउने लोभमा कुचो समातेका छन् । त्यसैले खास पर्वतिहारबाहेक अन्य दिनमा सरसफाइ तथा स्वच्छता अभियान आयोजना भएको हेर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्