‘सकारात्मक सोच’ का प्रशिक्षकलाई भ्याइनभ्याइ



जनकपुरधाम : सर्लाहीको हरिओन नगरपालिकाका मेयर गणेश प्रशाईंले सकारात्मक सोच विकासको प्रशिक्षणमा सहभागी हुन निम्तो दिँदा धेरैले उनलाई खिसीटिउरी गरे । यस्तो पनि कहीँ प्रशिक्षण हुन्छ भनेर उडाउनेहरूको कमी भएन । तर, मेयर प्रसाईंले त्यो प्रशिक्षण आयोजना गरेरै छाडे । उनी भन्छन्, ‘त्यतिबेला मलाई नपत्याउनेहरू फेरि त्यो प्रशिक्षण आयोजना गर्नुपर्यो भनेर कर गरिरहेका छन् ।’ दोहर्याएर सकारात्मक सोच विकासको प्रशिक्षण आयोजना गर्ने तयारीमा नगरपालिका छ ।

सकारात्मक सोच विकासको प्रशिक्षण लिएपछि धनुषाको मिथिला नगरपालिका–७ का वडाध्यक्ष युवराज उप्रेतीको फुर्ति नै अर्को भयो । नगरपालिकाले केही महिनाअघि आयोजना गरेको उक्त प्रशिक्षण लिएपछि आफूमा रहेको नकारात्मक सोचलाई उनले जरैदेखि उखलेर फाल्ने प्रण गरे । ‘विकास निर्माणका लागि मात्र होइन, व्यक्तित्व विकासमा पनि सकारात्मक सोच जरुरी रहेछ,’ वडाध्यक्ष उप्रेतीले भने, ‘जनप्रतिनिधिलाई मात्रै होइन, सकारात्मक सोचको प्रशिक्षण सबैलाई चाहिन्छ ।’

वडाध्यक्ष उप्रेतीमात्रै होइनन्, मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव रेग्मीले पनि दुई साताअघि लालगढमा सकारात्मक सोच विकासको प्रशिक्षण लिए । त्यो प्रशिक्षणले आफ्नो मस्तिष्कमा भएका विकार पखाल्न मद्दत पुगेको अनुभव उनले सुनाए । उनले भने, ‘सकारात्मक सोचको प्रशिक्षण सबै कर्मचारीलाई जरुरी रहेछ ।’

प्रशासकीय अधिकृत रेग्मीसँगै यो प्रशिक्षण लिएका आदर्श मावि लालगढका प्रधानाध्यपक हरिप्रसाद काफ्लेले भने, ‘सकारात्मक सोचको प्रशिक्षण त शिक्षकलाई पो बढी जरुरी छ ।’

अहिले प्रदेश २ का जनप्रतिनिधि, कर्मचारी र शिक्षकबीच सकारात्मक सोच  विकास गर्न प्रशिक्षण लिने लहर नै चलेको छ । विकास निर्माणका लागि मात्रै नभएर सभ्य र उन्नत समाज निर्माणका लागि पहिला सकारात्मक सोचको विकास गनुपर्ने भन्दै उनीहरू सकारात्मक सोच जागृत गराउने प्रशिक्षणमा सहभागी हुन थालेका हुन् ।

नेपालभित्र र बाहिर सकारात्मका सोचबारे प्रशिक्षण र कार्यशालाको आयोजना गर्दै आएको काठमाडौंको ड्रिमल्यान्ड इन्टरनेसनल ट्रेनिंग सेन्टरका अनुसार  प्रदेश २ का सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका धेरैजसो जनप्रतिनिधि, कर्मचारी र शिक्षकले सकारात्मक सोच विकास गर्न प्रशिक्षण लिइसकेका छन् र प्रदेशका अन्य जिल्लामा यस खालको प्रशिक्षण लिने तयारीमा छन् उनीहरू । ड्रिमल्यान्डका अध्यक्ष बिपी रेग्मीले भने, ‘प्रदेश दुईका धेरै नगरपालिका र गाउँपालिकाले सकारात्मक सोेचको प्रशिक्षण र गोष्ठी गर्ने इच्छा दखाएका छन्, धेरैले हामीलाई बोलाइरहनु पनि भएको छ , तर हामीले भ्याएका छैनौं ।’

प्रदेश २ मा सकारात्मक सोचबारे प्रशिक्षण अभियान सिरहाको लहान नगरपालिकाबाट सुरु भएको हो । सुरुमा जनप्रनिधिलाई मात्रै लक्षित गरिएको उक्त प्रशिक्षण अर्को दुई दिन लम्ब्याएर नगरपालिकाकै आग्रहमा कर्मचारी र शिक्षकलाई पनि दिइएको थियो ।

लहान नगरपालिकाका मेयर मुन्नी साह भन्छन्, ‘सुरुमा त नगरपालिकाका जनप्रतिनिधिलाई मात्रै प्रशिक्षणको व्यवस्था गरिएको थियो । तर, प्रशिक्षण लिइसकेपछि सकारात्मक सोच त कर्मचारी र शिक्षकलाई पनि जरुरी रहेको महसुस भयो अनि दुई दिन लम्ब्याएर उनीहरूलाई पनि यो प्रशिक्षण दिलायौं ।’ लहान नगरपालिकाका ५ सय शिक्षक र कर्मचारी उक्त प्रशिक्षणमा सहभागी थिए ।

लहानमा तीन दिनसम्म चलेको यो प्रशिक्षणको सबैतिर हल्ला भयो । लगत्तै सिरहाका धनगढीमाई, गोलबजार, कर्जन्हालगायतका नगरपालिकाले पनि जनप्रतिनिधिलाई लक्षित गरेर सकारात्मक सोच विकास गर्न प्रशिक्षणको आयोजना गरे । प्रशिक्षणमा जनप्रतिनीधि, शिक्षक र कर्मचारी उत्साहका साथ सहभागी भए ।

गोलबजार नगरपालिकाका मेयर देवनाथ साह भन्छन्, ‘प्रशिक्षण लिएपछि हाम्रो जस्तो चेतना अभाव भएका ठाउँमा सकारात्मक सोच विकास गर्ने प्रशिक्षण अत्यन्तै जरुरी रहेछ भन्ने मलाई महसुस भयो ।’ वर्षमा एकपटक यस्तै प्रशिक्षणको व्यवस्था गर्ने तयारीमा उनी छन् ।

धनुषाको मिथिला नगरपालिकाले त दुईपटक सकारात्मक सोच विकासको प्रशिक्षण राखिसकेको मेयर हरिनारायण महतोले जानकारी दिए । उनले भने, ‘म त दुवै चोटी प्रशिक्षणमा सहभागी भएँ, प्रशिक्षणले पोजेटिभ माइन्ड डेभलप गर्दो रहेछ ।’

धनुषाको बटेश्वर गाउँपालिका, सर्लाहीको हरिऔन र ईश्वरपुर नगरपालिकाले पनि यस खालको प्रशिक्षणको आयोजना गरिसकेका छन् । हरिओन नगरपालिकाका मेयर गणेश प्रसाईंले द नेपालटपसँग भने, ‘सकारात्मक सोचको प्रशिक्षण प्रदेश २ का लागि अत्यन्तै जरुरी छ ।’ उनले प्रदेश २ का सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, व्यापारी, राजनीतिकर्र्मीलगायतलाई उक्त प्रशिक्षण दिनुपर्ने बताए ।

नेपाली समाज विकृत मानसिकताले अक्रान्त बन्दै गएका बेला सकारात्मक सोच विकासबारे प्रशिक्षणमात्र नभएर अन्य कार्यक्रम पनि जरुरी रहेको बताउँछन् समाजशास्त्री नागेन्द्र दुवे । नकारात्मक सोचकै कारण मुलुक पछि परेकाले समाजका सबै तप्कालाई सकारात्मक सोच विकास गर्न प्रशिक्षित गर्नुपर्ने बताउँदै दुवे भन्छन्, ‘राजनीतिले नै मुलुकको भविष्य निर्धारण गर्ने भएकाले पहिला राजनीति गर्ने नेताहरूलाई सकारात्मक सोच विकासको प्रशिक्षण जरुरी छ ।’

स्थानीय निकायको सहकार्यमा प्रदेश २ मा सकारात्मक सोचको अभियान चलाइरहेका ड्रिम्सल्यान्डका अध्यक्ष बिपी रेग्मी अन्तर्राष्ट्रियस्तरका प्रशिक्षक मानिन्छन् । ‘सकारात्मक सोच विश्वमय बन्दै गएको छ,’ रेग्मीले भने, ‘हाम्रो जस्तो विकासोन्मुख देशमा त सकारात्मक सोचको विकास गर्न अति जरुरी छ । यसका लागि सरकारले प्रशिक्षण दिने वातावरण सिर्जना गर्नुपर्छ ।’

रेग्मीले सिंगापुर, मलेसिया, इन्डोनेसियालगायत भारतका धेरै प्रान्तमा गएर सकारात्मक सोच विकासको प्रशिक्षण दिइसकेका छन् । इटालीबाट न्यूरो लिग्रोष्टिंग प्रोग्रामिंग गरेका रेग्मी वाग्लुंगका हुन् । उनको यो अभियानमा पुरुषोत्तम कोइराला, जानुका पौडेललगायत ९ जनाको समूहले सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्