टीकाको दिन सार्वजनिक यातायातलाई सहज बनाइने



पोखरा : विजयादशमी अर्थात टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाउँपालिकामा सार्वजनिक यातायातलाई सहज बनाइने भएको छ । 

 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको पहलमा पृथ्वीराजमार्ग, पोखरा बस र ट्याक्सी व्यवसायी समितिको संयुक्त बैठकले उक्त प्रतिबद्धता गरेका हुन् । 

 

पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले समितिमा आवद्ध बसमध्ये ५० प्रतिशत अर्थात् एक सय ५० भन्दा बढी बसले टीकाको दिन सर्वसाधारणलाई सेवा प्रदान गर्ने बताए । 

 

ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाश तिवारीले समितिसँग आवद्ध माइक्रो बस उक्त दिन सञ्चालन गरिने बताए । 

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यातायात व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउँदै चाडपर्वका अवसरमा तोकिएको भन्दा बढी भाडा लिनेलाई कारवाही हुने बताए ।

 

टिकाको दिन बेलुका ६ बजेसम्म सार्वजनिक यातायातका साधन सहजरुपमा उपलब्ध हुने व्यववसायीले बैठकमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्