कोरोनाका विरुद्धको लडाइँमा सरकार उल्टो दौडमाः राहुल गान्धी



काठमाडौंः भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईका लागि सही बाटोमा नहिडेको बताएका छन् ।

उनले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताए । भारतमा शुक्रबार सबैभन्दा बढी कोरोना संक्रमित भेटिएसँगै आफ्नो ट्वीटर अकाउन्टमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

भारतमा शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा मात्र ११ हजार ४५८ जना संक्रमित भेटिएका छन् । यो नै भारतमा २४ घण्टाको अवधिमा सबैभन्दा बढी संक्रमित भेटिएको घटना हो ।

एक दिनमा भएका संक्रमितका यो संख्या सार्वजनिक भएसँगै काँग्रेसका नेता गान्धीले सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने बाटो नलिएको र यो उसको उल्टो दौड भएको बताए । उनले यसअघि पनि सरकारको आलोचना गर्दै आएका छन् ।

हाल सरकारले जारी राखेको लकडाउन असफल भएको उनले टिप्पणी पनि गरेका थिए । भारत सरकारले लिएको लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप उनको थियो । उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको आरोप सरकारमाथि लगाए ।

उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन १० हजारभन्दा बढी नै संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न सक्ने गरी काम नगरेको र सरकार असफल भएको बताए । उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखे ।

उनले यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाए । भारतमा शनिबार बिहानसम्म ४ लाख ८ हजार ९९३ जना संक्रमित भएका छन् । यस महामारीबाट ८ हजार ८८४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्