सरकारविरुद्ध आन्दोलनरत विद्यार्थीमाथि लाठी प्रहार, आधा दर्जन पक्राउ



वीरगन्जः प्रधानमन्त्रीको राजिनामाको माग गर्दै आन्दोलनमा उत्रेका नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेविसंघले प्रधानमन्त्रीको राजिनामा, पीसीआर परिक्षणको दायरा बढाउँनु पर्ने, आरडिटी परीक्षण खारेज गर्नुपर्ने, लकडाउन अवधिभरको बिजुली, कर, घरभाडा मिनाहा गर्नुपर्ने लगायतको माँग गर्दै आज विरोध प्रर्दशन गरेका थिए । उनीहरुको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेवि संघका जिल्ला अध्यक्ष विकास तिवारी, ठाराव ईकाई सभापती मनोज साह, नेवि संघका पूर्व प्रदेश सदस्य अभय कर्ण, संघका जिल्ला उपाध्यक्ष शेष हजरा, सचिव रमेश यादव, सदस्य श्याम गुप्तालाई पक्राउ गरेको हो ।

वीरगन्जको घण्टाघर चौकमा संघ सरकारको विरुद्ध प्रर्दशन गरीरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन लाठी चार्ज समेत गरेको छ । लाठी चार्जबाट आधादर्जन भन्दा बढी नेता कार्यकर्ताहरु समान्य घाईते भएको अध्यक्ष तिवारीले बताए ।

लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आइसक्दा पनि सरकार भने राहत दिनुको साट्टो कर असुल्नमा मात्रै व्यस्त भएको भन्दै नेविसंघले प्रधानमन्त्री तथा प्रदेश २ का मुख्यमन्त्रीको पुतला जलाएको थियो । महाविर स्थान स्थित लाटगल्लीबाट निकालिएको प्रधानमन्त्री तथा मुख्यमन्त्रीको पुतला दहन नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले पुतला नियन्त्रणमा लिन नेवि संघ र प्रहरी विच घम्साघम्सी समेत भएको थियो । प्रहरीले पुतला नियन्त्रणमा लिएपछि सरकार विरुद्ध लेखिएको नारा सहितको प्लेकार्ड प्रर्दशन गरेका थिए ।
अध्यक्ष तिवारीले प्रधानमन्त्रीलाई नेपाली जनताको मतलब छैन, जनता भोकभोकै बसेका छन तर सरकार भ्रष्ट्रचारमा लिप्त रहेकोले यस्ता प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माँग गरे ।

साथै उनले लकडाउन अवधीभरको बैंक व्याज, पानी, विजुली, घरभाडा माँफ गर्नपर्नु, सर्वसाधारणलाई तुरुन्त राहत वितरण गर्नुपर्ने माँग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्