सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट



धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ३ करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब बढी बजेट विनियोजन गरेको छ । बजेट वक्तव्यमार्फत आर्थिक मामिला तथा योजनामन्त्री बोहराले स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

यसैगरी प्रदेश सरकारले सिँचाइ योजनाका लागि एक अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि एक अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिए ।

सडक निर्माण आयोजनाका लागिसमेत सुदूरपश्चिम प्रदेश सरकारले पौने ५ अर्ब बजेट विनियोजन गरेको छ ।

यस्तै आगामी आर्थिक वर्षमा ५२८ किलोमिटर सडक निर्माण गर्न ४ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको उनले जानकारी दिए । गत वर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्