योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दायर



काठमाडौं : नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन (सम्पत्ति शुद्धिकरण) गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तत्कालीन अध्यक्षयोगेन्द्रसहित उनका पत्नी गीता, छोराहरु गौरव, सौरभ र उत्सव श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।

योगेन्द्र कम्पनी स्थापनाकालदेखि २०६८ सालसम्म शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यकारी अध्यक्ष थिए ।

श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा बचत भएको रकम हिसाब नदेखाई व्यक्तिको नाममा प्रयोग गरेको आरोपमा बैंकिङ कसुरको मुद्दासमेत खेपेका थिए । जसमा नागरिक लगानी कोषमा १६ करोड ५० लाख, माछापुच्छ्रे बैंकको ४ करोड ८८ लाख, जनता बैंकको १० करोड, हिमाल हाईड्रोको ९० लाख, नेपाली सेना कल्याणकारी कोषको ४ करोड, सन्ड्री डेप्स टर्सको ९ करोड ६९ लाख, बीमा संस्थानको २० करोड अनि विभिन्न व्यक्तिको बचत १७ करोड गरी कुल ८३ करोड ३ लाख रुपैयाँ अनियमित रुपमा दुरुपयोग गरेको आरोप थियो । उक्त रकम सम्बन्धित व्यक्ति वा संस्थाको खातामा नराखी दुरुपयोग गरेको आरोप थियो । उनीमाथि नक्कली ऋणी बनाई ३२ करोड ६४ लाख दुरुपयोग गरेको अभियोग पनि थियो ।

अर्को पटकको अभियोगमा उनीविरुद्ध ३४ करोड ९३ लाख दुरुपयोग गरेको मुद्दा चलेको थियो । तत्कालीन पुनरावेदन अदालतको वाणिज्य इजलासले दुई पटकको फैसलामा उनीसहितको टोलीले करिब १३ करोड रुपैयाँ अनियमितता गरेको ठहर गर्दै योगेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थमान मास्केलाई ३ वर्ष कैद फैसला सुनाएको थियो । त्यही घटनाका कसुरदार श्रेष्ठमाथि छानबिन हुँदा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्