बलि विरुद्ध रौतहटमा मौन र्‍याली



चन्द्रपुर : श्रीकृष्ण प्रणामी युवा परिषदले रौतहटको चन्द्रपुरमा बलिविरुद्ध मौन र्‍याली निकालेको छ। मंगलबार कृष्ण प्रणामी धर्मलम्बीले बलि प्रथाविरुद्ध मौन चन्द्रपुर नपाको चन्द्रनिगाहपुर बजारमा र्‍याली निकालेका हुन् ।

 

‘शाकाहारी जीवन शैली अपनाऔँ, जस्तो आहार त्यस्तै विचार’ लगायत सचेतना मुलक नारा लेखिएका  प्लेकार्ड बोकेर सयौँ मानिस र्‍यालीमा सहभागी भएका थिए।

 

चाडपर्वको बाहानामा पशुलाई बलि दिन नहुने भन्दै सचेतनाको लागि मौन र्‍यालीको आयोजना गरेको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल रौतहटका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए।

 

र्‍यालीपछि भएको कार्यक्रममा स्वामी मदनमहिम अलंकार, सन्त सुरेन्द्र शास्त्री , प्रतिनिधि सभाका संसद देवप्रसाद तिमल्सेना, कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटालगायतले बलिविरुद्ध मन्तव्य राखेका थिए।

 

मौन  र्‍यालीमा सयौँको सख्यामा महिला, पुरुष, युवायुवतीको सहभागीता रहेको चन्द्रपुर ९ नजरपुरका प्रणामी समाजका अगुवा मदन सापकोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्