संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित



काठमाडौं : नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ०७७ राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ सर्वसम्मत पारित भएको हो । यसभन्दा अगाडि गत शनिबार बसेको प्रतिनिधिसभाको बैठकबाट पनि विधेय सर्वसम्मपतले पारित भएको थियो ।

संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाले शनिबार सर्वसम्मत पारित गरेको विधेयक राष्ट्रियसभामा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् । त्यसलगत्तै राष्ट्रियसभामा विधेयकमाथिको छलफल शुरु भएको थियो । सो क्रममा सांसदहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको भन्दै भारतसँग वार्ता गरेर सो जमिनमा नेपालको स्वामित्व कायम गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष गरेकी थिइन् । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विधेयक निर्णयार्थ पेस गरेका थिए । विधेयक पारित हुन राष्ट्रियसभामा तत्काल उपस्थित सदस्य संख्याको दुई तिहाइ मत आवश्यक पर्छ । त्यसका लागि दस्तखतसहितको मतविभाजन गरिएको थियो । सो क्रममा विधेयकको पक्षमा राष्ट्रियसभा सर्वसम्मत भएको हो ।

बैठकमा उपस्थित ५७ जना सांसदले संविधान संशोधनको पक्षमा हस्ताक्षर गरेका थिए ।

सबै सांसदले विधेयकको पक्षमा मतदान गरेपछि राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित भएको घोषणा गरे ।

भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूभाग भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसको विरोध गरेको थियो । लकडाउनको अवधिमा भारतले उक्त भूभाग हुँदै चीन जोड्ने सडकको उदघाटन गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । संघीय संसदको दुवै सदनबाट पारित भएपछि अब विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्