भलुही खोलामा ८ वर्ष पहिले निर्माण भएको पुल अहिलेसम्म संचालनमा आएन



वीरगन्जः पर्साको ग्रामिण भेगमा रहेको पर्टेवा सुगौली र जिराभवनी गाउँपालिका जोड्ने मुख्य भलुही खोलामा निर्माण भएको पुल अहिलेसम्म संचालनमा आएको छैन ।

निर्माण भएको ८ वर्ष बित्तिसक्दा पनि अहिलेसम्म संचालनमा आउँन नसकेको स्थानियले बताएका छन् । भलुही खोलाको पुल थरुहट मार्गको मुख्य मेरुदण्ड हो ।

ग्रामिण भेगको पूर्व र पश्चिममा रहेको थारु समुदायको सम्बन्धलाई जोड्न पुलले काम गरेको छ । तर पुल निर्माण भएको ८ वर्ष वितिसक्दा पनि संचालनमा आउन नसक्दा स्थानियहरु निराश भएका छन् ।

दैनिक आवत जावतमासमेत स्थानियलाई कठिनाई भोग्नु परेको छ । वर्षातको दिनमा थरुहट समुदायको लाईफलाईनको रुपमा मानिएको यो सडक पूर्ण रुपमा बन्द हुने भएपछि सम्पूर्ण सवारी साधन आवतजावत ठप्प हुन्छ ।

यहाँसम्म एम्बुलेन्ससमेत संचालन हुन सक्दैन । सिकिस्त विरामीलाई समयमा अस्पताल नपुर्याउँदा अकालमै ज्यान जाने गरेको स्थानियको गुनासो रहेको छ ।

जसोतसो पुल निर्माणको ठेक्का लागे पनि पुलको आवश्यकता भन्दा कम लम्बाईमा निर्माण भएपनि गत वर्षको वर्षातले दुवैतर्फको सडक नै बगाएर लगेपछि अहिलेसम्म त्यो पुल संचालनमा आउन सकेको छैन ।

सडक डिभिजन कार्यालय, हेटौडाको सम्झौता अनुसार नै ठेकेदारले काम गरेपनि आवश्यकता अनुसारको पुलको लम्बाई नभएपछि पुलको दुवैतर्फको सडक बाढीले बगाएर लगेपछि संचालन आउँन नसकेको स्थानिय प्रमोद यादवले बताए ।

निर्माण गरिएको पुलले बाढीको पानी समेत थेक्न सक्ने अवस्था छैन् । सडक डिभिजन कार्यालय अनुसार ठेकेदारले पुल निर्माण सम्पन्न गरी गत बर्षको असार महिनामा नै पुल सडक विभागलाई हस्तान्तरण गरीसकेको छ । हस्तान्तरण गरेको एक महिना नवित्दै पुलको दुवैतर्फको सडक बगाएर लागेको थियो । अहिलेसम्म त्यो पुल संचालनमा आउँन सकेको छैन ।

स्थानियले पुल निर्माणकै क्रममा १५० मिटर लम्बाईको पुल बनाउँन माँग गरेका थिए । उनीहरुको डिभिजन सडक कार्यालयले ठेक्का लगाउँदा खोलाको बहाव अनुसार पुल निर्माण नगरेको भन्दै ४ बर्ष काम समेत रोकेका थिए । तर डिभिजन सडक कार्यालय हेटौडाले पुलको लम्बाई नबढाई तोकेको मापदण्ड अनुसार नै पुल निर्माण हुने जनाएपछि ठेकेदारले पुन निर्माण सम्पन्न गरी गत बर्ष हस्तान्तरण गरेको थियो ।

पुलको दुईवटा मात्र पिल्लर दिएको छ, हामीले पिलर थप्न भनेका थियो तर ठेकेदारले पिलर नथपि निर्माण सम्पन्न गरेको छ । स्थानिय बाबुलाल भण्डारीले पुल निर्माण सम्पन्न गर्दा पुलको छेउँमा जाली बाँधेर ढुङ्गाले नछेकेका कारण गत बर्ष आएको बाढीले दुवैतर्फको माटो बगाएपछि पुल संचालनमा आउँन सकेको छैन ।

पुलको डिजाईन नै खराब बनाईएको थियो । पुल निर्माणको ठेक्का पाएका वाईपी मोना कन्स्ट्रक्शनका प्रोप्राईटर रामाकान्त चौरसियाले भने, पुल ६० मिटरको बनाईएको छ तर त्यहाँ आवश्यकता १२० मिटरको छ त्यही कारणले बाढीको पानी थेक्न नसकेकोले पुलको दुवैतर्फको माटो बगाएर लगेको हो ।

पुल निर्माण प्रकृया भएलगतै स्थानियले विरोध गर्दै तीन वटा पिल्लरमा नभई दशवटा पिल्लर हालेर पुल निर्माण गर्न भनेका थिए, तर हाम्रो टेण्डरमा ६० मिटरको मात्र थियो प्रोप्राईटर चौरसियाले भने, डिजाईन परिर्वतन गर्न नमिल्ने भएकोले सडक डिभिजन कार्यालयले पनि ठेक्का लगाएकोमा २०-२५ प्रतिशत मात्र थप्न सक्छ सय प्रतिशत थप्न सम्भव नभएका कारण पुलको लम्बाई थपिएन ।

स्थानियको समस्यालाई ध्यानमा राखेर सडक देखि मन्त्रालयसम्म गुनासो राख्दा कुनै सुनवाई नभएको ठेकेदार कम्पनीको गुनासो छ । पुलको लम्बाई थप्प अर्को बजेट नै निकासा गरेर ठेक्का लगाउँनु पर्छ हाम्रो बजेटमा निर्माण गर्न सकिदैन् । अहिलेसम्म हामीले गरेको ठेक्काको ४० प्रतिशत अर्थात ८० लाख रुपैया भुक्तानी दिन बाँकी नै छ ।

शुरुमा स्थानियले विरोध गर्दै तीनवटा पिलरमा स्थानियको विरोधका कारण चारबर्षसम्म पुल निर्माणको कार्य अवरोध हुन पुग्यो । ठेकेदार कम्पनीले स्थानियको माँग बारे सडक डिभिजन कार्यालयलाई अवगत गराएको थियो तर डिभिजन कार्यालय मानेन् ।

वाईपी मोना कन्स्ट्रक्शनले करिब १ करोड ९६ लाख १७ हजार ५ सय ६० रुपैयामा २०६६ असार ३० गते २ बर्षमा निर्माण सम्पन्न हुने गरी सडक डिभिजन कार्यालय संग सम्झौता गरेको थियो । सम्झौता अनुसार पुल निर्माण भएपनि अहिले सम्म पुल संचालन नहुँदा खोलाको पानी तरेर आउँने जाने गरेका छन तर बाढी आउँने वित्तिकै आवतजावत १ महिना सम्म ठप्प हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्