नेकपामा तल्लो तहको एकता दसैंलगत्तै



काठमाडौँ : आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको हो ।

 

नेकपाले एकीकरणका अल्झिएका काम सक्नेबारे छलफल गर्न कात्तिक ४ र ५ गते सचिवालय बैठक डाकेको छ । बैठकले छलफल गरेपछि पार्टीका स्थायी समिति बस्ने गरी समन्वयसमेत गरिरहेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थायी समितिको बैठक १२ र १३ गतेका लागि बोलाइएको छ । अब बस्ने बैठकले जिल्लास्तरको एकताको गाँठो फुकाउने र केन्द्रीय विभागहरूलाई पनि पूर्णता दिने योजना रहेको नेताहरूले जनाएका छन् ।

 

एमाले र माओवादी केन्द्रबीच संयुक्त चुनावी गठबन्धन सुरु भएदेखि नै नेकपाका संगठनहरू चलायमान छैनन् । गत जेठमा केन्द्रमा एकता गरेपछि त झन् पार्टीका काम करिब ठप्प छन् । एक साताअघि बसेको सचिवालय बैठकबाट एकता प्रक्रियाका अल्झन हटाउने भनिएको थियो । तर उक्त बैठकमा अकस्मात् नेता वामदेव गौतमको चुनावमा उठ्ने प्रसंग र काठमाडौं ७ का सांसद रामवीर मानन्धरको राजीनामाको पत्र आएपछि अन्य विषयमा छलफल हुन सकेको थिए ।

 

नेकपाले हाल प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । यद्यपि यो निर्णयमाथि पनि वरिष्ठ नेता माधवकुमार नेपालको असहमति कायमै छ । नेपालको असहमति भए पनि प्रदेशका पदाधिकारीहरूले काम थालिसकेका छन् । उनीहरूले अहिले सहमति कायम हुन सक्ने जिल्लाको खाका बनाइरहेका छन् ।

 

दुवै पार्टीको सम्पत्ति एकीकृत गर्ने, भेलाहरू आयोजना गर्ने लगायतका काम प्रदेशका पदाधिकारीहरूले गरिरहेका छन् । अब केन्द्रबाट एउटा ठोस निर्देशन जानेबित्तिकै जिल्ला तहको सबै एकीकरण पूरा हुन्छ ।

 

पार्टी एकीकरण नभएका कारण सरकारले गरेका कामकारबाहीमा समेत नेताहरूले स्वामित्व लिन हिच्किचाइरहेका छन् । त्यसैले अब छिटो एकीकरण टुंग्याउनुपर्ने दबाब नेताहरूमा छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले दसैंको बिदाको समयमा पनि आन्तरिक परामर्श गरी सचिवालय बैठकको तयारी गर्नेछन् ।

 

सचिवालयले एकताका सैद्धान्तिक आधारका गृहकार्य गरेपछि स्थायी समितिमा बृहत् छलफल हुन्छ । यसपटक स्थायी समितिले सरकारका कामकारबाहीको विषयमा पनि समीक्षा गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्