स्पेनिस ला लिगामा रियल मड्रिड विजयी



एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथी फराकिलो जीत दर्ता गरेको छ ।

विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो ।

रियलको जीतमा करिम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । रियलको सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा रियलले करीम बेन्जेमाको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

खेलको ७४ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका थिए ।

८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जीत सुनिश्चित गरे । जीतसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकमा झारेको छ ।

रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्