गुराँसमा हिउँ : क्या मज्जा !(फोटो फिचर) 



म्याग्दी : प्रकृतिको सुन्दरतामा कहिले काहीँ मौसमले पनि गज्जब गरिदिन्छ । म्याग्दीका लेकाली क्षेत्रमा यतिबेला राताम्यै भएर ढकमक्क फुलिरहेको छ लालीगुराँस । मध्यफागुनको समय । म्याग्दीको लेकाली जंगलहरू राताम्यै छन् । त्यसमाथि झन् दुई दिनसम्म लगातार बाक्लो हिमपात भएपछि राताम्यै फुलेका गुराँसमा सेतो हिउँले फेटा गुथेको छ, पातपात, फूलफूल र बोटबोटमा ।

यतिबेला म्याग्दीको लेकाली सौन्दर्यमा निखार आएको छ । जति हेरे पनि हेरुँ हेरुँ लाग्ने गुराँसे जंगलमा सेताम्यै हिउँले मानिसको मनलाई आह्लादित बनाएको छ । हिउँ खेल्न पुगेका तन्नेरीहरू रमाउँदै गुराँससँग मितेरी लगाइरहेका छन् । 

गुराँसको लालीमासँगै तन्नेरीहरूको अनुहारमा कान्ति झल्किएको छ । प्रकृतिले सम्पूर्ण सौन्दर्य खन्याएजस्तो देखिन्छन् यतिबेला म्याग्दीका लेकाली क्षेत्र ।  गुराँसे जंगलमा हिउँको पछ्यौरा फैलिएजस्तो दृश्यले कसको मन नलोभिएला र ? आहा ! गुराँसमा हिउँ ? क्या मज्जा !!

 

प्रतिक्रिया दिनुहोस्