‘हेल्लो जिन्दगी’ मा श्वेता



काठमाडौं : नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमती नायिका श्वेता खड्का विवाहलगत्तै पतिवियोगमा परेपछि लामो समयसम्म फिल्मबाट टाढा रहिन् । कतिपयले अब उनी फिल्ममा फर्किँदैनन् भनेर अनुमान पनि लगाएका थिए । उनले गत वर्ष फिल्म ‘कान्छी’ मार्फत् नेपाली फिल्ममा कमब्याक गरेकी थिइन् ।

फिल्म ‘कान्छी’ उनकै निर्माणमा बनेको फिल्म थियो । फिल्मले बक्सअफिसमा राम्रै कमाइ गरेको थियो ।

‘कान्छी’ रिलिजको ६ महिनापछि उनले बाहिरी ब्यानरको एक फिल्म ‘बिहीबार साँझ’ सम्झौता गरेकी छन् । हाल उनी एभरेस्ट सूर्य बोहोराको नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ मा अनुबन्ध भएकी छिन् । यसभन्दा पहिले एभरेष्ट सूर्य बोहोराले फिल्म ‘भैरे’ लाई निर्देशन गरेका थिए ।

यसअघि यस फिल्ममा ‘कृ’ फिल्मकी नायिका अदिती बुढाथोकीको नाम चर्चामा थियो ।

फिल्म ‘हेल्लो जिन्दगी’ लाई निर्देशक बोहोराले निर्देशन र लेखनमा बन्ने भएको छ । यस फिल्मलाई सिर्जना जोशीले निर्माण गर्नेछन् । यस फिल्मको निर्माण वीरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको छ । यस फिल्ममा अनुबन्ध भएपछि नायिका श्वेताले खुसी व्यक्त गरेकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो लागि खुसीको पल र एकदमै स्पेसल दिन भएको उल्लेख गरेकी छिन् ।

उनले निर्देशक बोहोरालाई ‘डाइनमिक’ निर्देशक भन्दै प्रशंसाको पुल पनि बाँधेकी छिन् । श्वेताले धेरै समयपछि बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेकी छिन् । पछिल्लो समय समाजसेवामा पनि सक्रिय उनले चरित्र मन परेका कारण ‘हेल्लो जिन्दगी’ गर्न राजी भएको बताएकी छिन् ।

उनको यो फिल्मलाई अहिलेका सर्वाधिक व्यस्त र महँगा छायाँकार पुरुषोत्तम प्रधानले खिच्नेछन् । 

प्रतिक्रिया दिनुहोस्