‘हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गर्नुपर्छ’



काठमाडौं : पूर्व राष्ट्रपति डा. रामवरण यादवले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेर मात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने बताएका छन् । यादवले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए । सदरमुकाम धादिङबेसीमा शुक्रबारदेखि सुरु भएको धादिङ पर्यटन तथा औद्योगिक मेलाको उद्घाटनमा बोल्दै डा.यादवले लोकतान्त्रिक प्रणालीमार्फत् मुलुकलाई समृद्ध बनाउन सबै पक्ष लाग्नुपर्ने धारणा राखे ।  

देशमा धेरै उतारचढावको बाबजुत पनि देशमा इतिहासकै राम्रो संविधान आएको यादवले बताए । ‘संविधान मार्फत देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ, जनताको प्रतिनिधिहरू हरेक निकायमा छन्’, डा.यादवले भने, ‘संविधान मार्फत जनप्रतिनिधिहरूले आत्मसाथ गर्दै देशलाई अघि बढाउने जिम्मा सबैको हो ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए ।

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति समेत रहेका डा.यादवले जुन संविधानलाई आत्मसाथ गर्दै जारी भएको छ, त्यो जनता सार्वभौम भएको छ, जनता देशका मालिक भएका छन्, त्यसलाई सबैले सम्मानका साथ हेर्नुपर्ने बताए । ‘जनताका जनप्रतिनिधि तीन तहमा बाँडिएका छन्’, डा.यादवले भने, ‘अब संविधानलाई आत्मसाथ गर्दै देशलाई समृद्धिको बाटोतर्फ लम्काउनुपर्छ ।’ देशको एकतालाई कसरी कायम राख्ने र समाजिक सद्भाव कसरी जोड्ने भन्ने विषयमा आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्