नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनाउँने : सिपिसी विदेश विभाग प्रमुख ताओ



काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का अन्तर्राष्ट्रिय विभाग प्रमख सुन ताओले चीन र नेपाल बीचको सम्बन्ध बलियो रहेको बताउँदै यसलाई थप मजबुत बनाउनुपर्ने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय पार्टी स्कुल विभागको संयुक्त आयोजनमा आज भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ताओले यस्तो बताएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ वर्ष पुगेको अवसरमा दुई देशका सत्तारुढ दलबीच पार्टी र देश सञ्चालनका बारेमा अनुभव आदानप्रदान हुन गर्नका लागि भएको भिडियो कन्फ्रेन्स कार्यक्रममाफर्त ताओले दुबै कम्युनिष्ट पार्टीको माध्यमबाट दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन सकिने बताए ।

कार्यक्रममा सहभागि नेकपा स्कुल बिभाग उपप्रमुख तथा स्थायी कमिटीका सदस्य डा. बेदुराम भुषालका अनुसार दुई देशको सम्बन्ध बलियो रहेको र यसलाई पार्टीका मार्फत थप बलियो बनाउँदै अघि बढने विषयमा छलफल भएको बताए ।

‘नेपाल सधै एक चीन नीति प्रति साथ दिएको छ, दुबै देशको सम्बन्ध बलियो रहेको र यसलाई थप बलियो बनाउँदै अघि बढनुपर्छ’ ताओको भनाई उद्धृत गर्दै भुषालले भने, ‘अहिले महामारीको रुपमा देखिएको कोरोनाभाइरसको नियन्त्रण एवं रोकथामका लागि चीनले नेपाललाई सहयोग गर्छ ।’

कार्यक्रमको शुभारम्भ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय गीत बजाएर भएको थियो । कार्यक्रममा नेकपा नेताहरु धुम्बाराही स्थित पार्टी केन्द्रीय कार्यालयबाट सहभागि थिए । कार्यक्रम सफल र फलदायी नै भएको अनुभव नेताहरुले सुनाएका छन् ।

नेकपा केन्द्रीय सदस्य बिशाल भट्टराईका अनुसार करिब दुई घण्टाभन्दा बढी समय सम्म भएको कार्यक्रममा नेपाल– चीन सम्बन्ध, दुबै देशका कम्युनिष्ट पार्टी बीचको सम्बन्धका साथै समसामयिक बिषयका बारेमा छलफल भएको छ ।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमख ताओका साथै तिब्बत कमिटीका सचिव यु याङजेले समेत आफ्नो धारणा राखेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव यु याङजेले हिमालय क्षेत्रको अन्तरदेशीय सम्पर्क सञ्जाल बनाउन दुबै देश मिलेर काम गर्नुपर्ने बताए । साथै अगामी दिनमा सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई पनि दुबै देशले संयुक्त रुपमा सार्वजनिक गर्ने उनले बताए ।

नेकपा स्कुल बिभाग प्रमुख, उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरूद्ध नेपालले गरिरहेका कामबारे चर्चा गरेका छन् । नेपालमा कोरोना भाइरसको नियन्त्रण, रोकथामका लागि भईरहेको प्रयासको बारेमा उनले कार्यक्रममा राखेका थिए । समयमै लकडाउन जारी गरिएकाले संक्रमण कम फैलिएको अनुभव उनले सुनाए ।

कार्यक्रममा औपचारिक भन्दा बढी औपचारिक कुराकानीमा केन्द्रीत भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्