गोदामचौर बलात्कार घटनाका अभियुक्तलाई १० वर्ष कैद



काठमाडौं : ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका ३ अभियुक्तलाई जनही १० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । न्यायाधीश धनसिंह महराको इजलासले शुक्रबार सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मंसिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको होे । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरूबाट पीडितलाई जनही १ लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । 

सामूहिक बलात्कारपछि ज्यान मार्ने मनसायले युवतीको टाउकोमा ढुंगा प्रहार गरेको अनुमान गरी फालेका थिए । युवतीलाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा भेटिएको थियो । युवतीले घटनाअघि नै अभियुक्तहरुको अनुहार चिनेको हुँदा तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्