भिडियो सम्मेलनः नेपालको सुरक्षामा आँच नपुर्याउन चीनको चेतावनी



काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागले हिजो नेकपाको पार्टी स्कुल विभागसँग मिलेर तिब्बत सरकारका पदाधिकारीहरुको निम्ति भिडियो सम्मेलनको आयोजना गरेको थियो ।

तिब्बत डेलीमा सो सम्मेलनवारे आज प्रकाशित विवरण अनुसार त्यस अवसरमा चिनियाँ पक्षबाट ब्यक्त विचार हाल नेपालले झेल्दै गरेको सीमा समस्याका निम्ति थोरै राहतको विषय हुन सक्ने छ ।

नेकपा अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलसहित सहभागी रहेको भिडियो सम्वादमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओले कूटनीतिक शैली तर स्पष्ट शव्दमा भनेका थिए,‘जसरी हङकङ र तिब्बतको मुद्दामा नेपाली जनताले चीनलाई साथ दिदै आएको छ, त्यसरी नै नेपालको सार्वभौमसत्ता र सुरक्षामा चीन नेपालसँगै रहनेछ ।’

यसअघि सन १९६२ को भारत-चीन युध्दपछि नेपाल-भारतवीच विवाद बढेको बेला प्रधानमन्त्री चौ एनलाईसँगैै नेपाल आएका विदेश मन्त्री तथा सेनाका मार्शल छन् यीले बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा यसरी नै उद्घोष गरेका थिए,‘नेपालमाथि कसैले हमला गरेमा चिनियाँ जनमुक्ति सेनाले सो को प्रतिकार गर्नेछ ।’

हिजोको वार्तामा चीनका तर्फबाट सोङ्ग ताओका अतिरिक्त तिब्बत हेर्ने पार्टी सचिव वु यिङ्ग्जिए र जिल्ला पार्टी स्कुल विभाग प्रमुख सु वेन्हुइसमेत सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्