विप्लवलाई हेर्ने सरकारी दृष्टिकोण अस्पष्ट



काठमाडौँ: ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि फागुन १० मा एक जनाको ज्यान जाने गरी गराइएको विस्फोटमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको संलग्नता पुष्टि भइसक्दा पनि प्रहरीले त्यसका शीर्ष नेतालाई पक्राउ गर्न सकेको छैन । गृह मन्त्रालयबाटै चासो नदेखाइएपछि प्रहरी विप्लव समूहका नेतालाई पक्राउ गर्न हच्किएको स्रोतले जनाएको छ ।

घटनाको भोलिपल्टै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अस्पताल पुगेर घाइतेलाई भेटेका थिए । त्यहाँ गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने वाचा गरेका थिए । त्यसको पर्सिपल्टै प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको थियो । प्रहरीले उनी एक समय विप्लवका अंगरक्षक रहेको र नख्खु विस्फोटमा समेत संलग्न रहेको दाबी गरेको थियो ।

उच्च स्रोतका अनुसार ज्यानै जाने गरी राजधानीभित्रै गरिएको विस्फोटलगत्तै राजनीतिक तहबाट विप्लवमाथि कारबाही केन्दि्रत गर्न निर्देशन आउने अपेक्षा प्रहरी नेतृत्वले गरेको थियो तर त्यस्तो भएन । 'विप्लव समूहलाई कसरी हेर्ने भन्नेमा गृह नेतृत्व अलमलमै देखियो,' स्रोतले भन्यो, 'त्यसैको कारण हुन सक्छ, विप्लव समूहका उच्च नेता प्रहरी टार्गेटमा परेनन् ।'

त्यसो त राजधानीमा विस्फोटको घटनाप्रति नेपाली सेनाले पनि चासो देखाएको थियो । सैनिक उच्च नेतृत्वले उक्त घटनालगत्तै राजधानीको सुरक्षा अवस्था र विप्लव समूहका नेताको गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको थियो । स्रोतका अनुसार घटनालगत्तै विप्लवको गतिविधिबारे सेनाले गृहको उच्च नेतृत्वलाई केही सूचना दिएको थियो । त्यस्तो सूचना गृहबाट प्रहरीको उच्च नेतृत्वमा पनि पुगेको छ । गृहले भने नेकपाको उच्च नेतृत्वलाई कसरी हेर्ने भन्नेबारे स्पष्ट आदेश दिइसकेको छैन । गृहका एक कर्मचारीका अनुसार राजनीतिक शक्तिकै रूपमा अझै केही समय हेर्ने कि तत्कालै एक्सनमा जाने भन्नेमा द्विविधा देखिन्छ ।

स्रोतका अनुसार घटनाको दिन विप्लव कहाँ थिए, त्यसलगत्तै उनी कहाँ-कहाँ पुगे भन्नेबारे केही सूचना गृह मन्त्रालय हुँदै प्रहरीको उच्च निकायमा पुगेको छ । त्यसका आधारमा पक्राउ गरेर उनीहरूलाई बिच्क्याउने पक्षमा गृह देखिँदैन । ललितपुर विस्फोटलगत्तै प्रहरीले खानतलासी र सुराकी परिचालन तीव्र पारेको थियो । कान्तिपुरसँग सम्पर्कमा आएका उच्च प्रहरी अधिकारीका अनुसार आक्रामक कारबाहीभन्दा पनि थप घटना हुन नदिन प्रहरी केन्दि्रत देखिन्छ ।

ललितपुर घटनालगत्तै प्रहरी प्रधान कार्यालयको ठाडो निर्देशनमा उपत्यकाका तीनै जिल्लामा प्रहरीले खानतलासी र सुराकी तीव्र पारेको थियो । विप्लवका जिल्लास्तरीय नेताहरूको गतिविधिमाथि निगरानी बढाउन जिल्ला प्रहरी नेतृत्वलाई निर्देशन पनि दिएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अनुसन्धान अधिकारीका अनुसार विप्लवलगायत उच्च तहका सबै नेताको फोन ललितपुर घटनालगत्तै स्विच अफ छ ।

प्रहरीले विप्लवको उच्च नेतृत्वको बीटीएस र सीडीआर निकाल्ने प्रयास गरे पनि मोबाइल अफ भएका कारण लोकेसन निकाल्न सकेको छैन । स्रोतले भन्यो, 'विप्लवसँग नजिक रहेका केही नेताको फोन लोकेसन सीमापारि भारतीय भूमिमा देखिन्छ तर उनीहरूको कनेक्सनका आधारमा थप केही फेला पार्न सकिएको छैन ।'अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नख्खु विस्फोटमा विप्लव माओवादीको काठमाडौं ब्युरो प्रमुखको संलग्नता प्रस्ट देखिन्छ । त्यसभन्दा माथिको कनेक्सन पत्ता लगाउने प्राविधिक आधार फेला परेको छैन ।

ललितपुर विस्फोटकै साता प्रहरीले धरानको पानमारा सडक खण्डमा विप्लव समूहका कार्यकर्ता सन्दीप भनिने देवकुमार लिम्बूलाई अत्याधुनिक लङ मेसिन गन र सेनाको मात्रै पहुँचमा रहेको भनिएको एम १६ हतियारसहित पक्राउ गरेको थियो । उच्च स्रोतका अनुसार सेनाकै सूचनाका आधारमा प्रहरीले लिम्बूलाई पक्रेको थियो । अमेरिका निर्मित एम १६ हतियार नेपाली सेनाले किनेको थियो । त्यस्तो हतियार कसरी लिम्बूको हातमा पुग्यो र विप्लव समूहसँग हतियारको पहुँच कति छ र के-कस्ता हतियार उनीहरूले लुकाएर राखेका छन् भन्नेमा सेनाको चासो देखिन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बेला पनि विप्लव समूहको हिंसात्मक गतिविधि देखिएको थियो । २०७४ मंसिर १२ गते दाङमा भएको विस्फोटमा म्यादी प्रहरी विनोद चौधरीले ज्यान गुमाएपछि उच्च प्रहरी अधिकारीले विप्लवकै घोषित नीतिका आधारमा विस्फोट भएको रिपोर्ट गृहमा पेस गरेका थिए । चुनाव प्रभावित हुने भन्दै त्यतिबेला पनि गृहले कडा निर्देशन दिएको थिएन । फलतः विप्लवका कार्यकर्ता र जिल्ला तहका नेता पक्राउ परे पनि उच्च नेता समातिएनन् । प्रहरीका एक अधिकारीका अनुसार राजनीतिक नेतृत्व अहिले पनि निर्वाचनअघिकै मुडमा रहेको कान्तिपुरमा खवर छ ।

२०७३ फागुन १ गते राजधानीको खुलामञ्चमा नेकपाले गरेको आमसभामै विप्लवले एकीकृत जनक्रान्ति गर्ने बताउँदै आवश्यक परे राइफल र जीपीएमजी बोक्न तयार हुनुपर्ने उद्घोष गरेका थिए । पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी विप्लव समूहलाई हेर्ने सरकारको 'लाइन अफ एक्सन' प्रस्ट नभएको बताउँछन् । उनले भने, 'यस्तो अवस्थामा प्रहरीको पनि लाइन अफ एक्सन प्रस्ट हुँदैन, जसको असर अनुसन्धानमा सोझै पर्छ ।' उनका अनुसार विप्लवलाई हेर्ने सरकारी दृष्टिकोणको अलमलले सुरक्षा निकायलाई हतोत्साही बनाउँछ र आमजनमतलाई पनि विभाजित तुल्याउँछ ।

महानगरीय प्रहरी कार्यालयका डीआईजी शैलेश थापा क्षेत्रीले विस्फोट घटनापछि अनुसन्धान तीव्र पारिएको बताए । उनले प्राप्त प्रमाणका आधारमा संलग्न देखिने जोकोहीलाई पनि नछाडिने बताए । 'विस्फोट घटनाबारे गम्भीर अनुसन्धान जारी छ,' उनले भने, 'अन्य थप प्रमाण खोज्ने र सम्बन्ध केलाउने काम भइरहेको छ ।'

प्रतिक्रिया दिनुहोस्