जन्डिस लागेको बेलामा बेसार नखानु भन्ने प्रधानमन्त्रीलाई चिकित्सकको जवाफ- ‘बेसार आँखामा गएर बस्ने होइन्’ (भिडियोसहित)



काठमाडौं– केही दिन यता प्रधानमन्त्री केपी शर्माको ओलीको अभिव्यक्ति र भनाईहरू सामाजिक सञ्जालमा खिल्ली र हाँसोको विषय भइरहेको छ । संसदमा पटक–पटक कोरोना संक्रमणको प्रसंगमा उनले तातो पानी खानुस्, बेसार पानी खानुस्, कोरोना ठिक हुन्छ भनेर सबैलाई सुझाव दिइरहेका छन् ।

कोरोना भाइरसको महामारीको बेला प्रधानमन्त्रीको पदमा बसेर हल्का र आफ्नो विज्ञता नभएको विषयमा टिप्पणी गरेको भन्दै उनको आलोचना भइरहेको छ ।

बिहीवार संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा बोल्ने क्रममा उनले भनेका थिए– ‘बेसार पनि कुनै–कुनै अवस्थामा खान हुँदैन। जन्डिस लागेको छ भने रक्तअल्पत्ता भएको छ भने बेसार खानु हुँदैन।’

त्यसपछि उनले थपे–‘गर्भवती र सुत्केरी महिलाले बेसार खान हुँदैन। आइरन र ब्लडको कमी छ भने बेसार खानु हुँदैन।’

प्रधानमन्त्रीको सो भनाईप्रति चिकित्सकहरूले आपत्ति जनाएर आफ्ना धारणा राखिरहेका छन् । वरिष्ठ रोग तथा कलेजो रोग विशेषज्ञ डा ए.के कश्यपले जन्डिस भएको बिरामीलाई बेसार नखानु भन्न नमिलने बताउँछन् ।

मेडिकल साइन्सले त्यो तथ्य कतै प्रमाणित नगरेको भन्दै उनले भने– ‘गर्भवती र सुत्केरी महिलाले बेसार खान हुँदैन भनेर उहाँले भन्नु भयो तर मेडिकल साइन्समा कतै पनि त्यो कुरा लेखिएको छैन।’

आफूले कहिलेपनि त्यस्ते नसुनेको भन्दै थपे– ‘हामीले सुन्या पनि छैन र त्यो हुँदा पनि होइन् ।’

यस्तो गलत प्रचारले जन्डिसका विरामीहरूलाई विगारिरहेको उनको भनाई छ । उनले भने– ‘त्यो बेसार आँखामा गएर बस्ने होइन् । बिलीरुबिन लेभल बढेर त्यो आँखामा देखिने र शरिरको अरु कतै अंगमा पहेलोपन देखिने हो । त्यो बेसारले आँखा पहेलो हुने होइन् ।’

यदि कसैले जन्डिस भएको बेलामा बेसार खानु हुँदैन भनेर भन्छ भने त्यो एकदम गलत तर्क रहेको उनी बताउँछन् । देशको प्रधानमन्त्रीले बिना तथ्य यस्तो बोल्दा नागरिकमा नराम्रो छाप पर्ने उनको भनाई छ ।

उनी भन्छन्– ‘सदनमा बोलेको कुरा त सबै मान्छेहरूले सुनेको हुन्छ उहाँको पनि डक्टरको टिम छ उहाँहरूलाई पनि त सोध्दा भयो नि । त्यस्तोमा केही अध्ययन अनुसन्धान भएको छ भने त्यसको आधारमा बोल्दिन प¥यो ।’

‘अनुसन्धान नभएको कुरा अनि त्यही माथि जन्डिसमा खानु हुँदैन भन्नु भयौं भनेत हामी चिकित्सकहरू आफै मान्दैनौं । म पनि मान्दिन त्यो त । न कतै रिसर्च भएको छ न हामीले कतै पढेको छौं । जन्डिसमा कसरी बेसार नखान भन्न सक्नु हुन्छ । पहेलो त्यो र यो एकदम फरक कुरा हो । यस्तो संवेदनशील कुराहरूमा केही बोल्नु छ भने तयारी राम्रो हुनु पर्छ’– उनले थपे ।

जन्डिस हामीले सोचेको जस्तो सजिलो नभएको उनी बताउँछन् । एउटा मात्रै कारणले हो भन्ने नसकिने उनको भनाई छ । उनले भने– ‘यसमा बेसारको केही पनि दोष छैन ।’

निश्चय पनि प्रधानमन्त्री ओली डाक्टर होइनन् । न उनी कुनै भाइरोलोजिष्ट नै हुन् । तर उनको भनाइ जसरी सामाजिक सञ्जालमा उडाइएको छ, त्यसरी उडाउनु पर्ने खालको पनि नरहेको जानकारहरू बताउँछन् ।

यस्तैमा प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह पनि गरेका छन् । प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने– ‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऊ । आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।’

प्रतिक्रिया दिनुहोस्