ढल्केवरको दारी ग्याङ, जसको अस्त्र हो कुचो



ढल्केवर : क्याम्ब्रिज शब्दकोषमा ग्याङको अर्थ छ– युवाको एउटा विशेष समूह । अझ विशेष रूपले पुरुष युवाको जोहरू एकसाथ समय बिताउँछन् । प्रायः अन्य समूहसँग लडाइ गर्छ र नराम्रो व्यवहार गर्छ ।’ यही शब्दकोषले ग्याङ शब्दको अर्को परिभाषा पनि दिएको छ । त्यो हो, एकसाथ काम गर्ने अपराधीको समूह । 

सामान्यतया ग्याङ शब्दको प्रयोग अवैधानिक र आपराधिक वृत्तिमा संलग्न भएकाहरूका लागि नै प्रयोग हुने गर्छन् । झट्ट यो शब्द सुन्दा हाम्रो मस्तिष्कमा पनि कुनै उपद्रवी, उन्मादी र क्रुर व्यक्तिहरूको झुन्डकै छवि आउँछ । तर, ठीक यस्तो बुझाइ विपरीत धनुषाको ढल्केवरमा दारी ग्याङ छ, जोहरू एकापसमा मित्रवत् छन् र समान सकारात्मक उद्देश्यका लागि क्रियाशील पनि । 

यो ग्याङका सदस्य सामाजिक कार्यमा संलग्न हु्न्छन्, सही परिवर्तनलाई प्रवद्र्धन गर्छन् र रचनात्मक परिणाम खोज्छन् । सामाजिक सञ्जालका भित्ताहरूमा ग्याङका सदस्य कहिले कुचो लिएर गाउँटोल बढारिरहेका तस्बिर देखिन्छन् त कहिले चोकचौराहामा पीडितलाई न्याय दिलाउन प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरिरहेका फोटा हुन्छन् । 

पूर्वपश्चिम राजमार्गमा पर्ने ढल्केवरको मूलचोकमा केही दिनअघि उनीहरू बलात्कारपछि हत्या गरिएकी मिथिला नगरपालिका–३ हरिहरपुर मगरटोलकी दुतिया रसाइलीलाई न्याय दिलाउन प्रदर्शन गरिरहेका भेटिए । चर्का स्वरमा उनीहरू घटनाका ‘दुष्ट अपराधी’ लाई छिटोभन्दा छिटो पक्राउ गर्न स्थानीय प्रहरी प्रशासनमाथि दबाब बनाउँदै थिए । 

ढल्केवरका युवाको यो समूहमा ३२ जना सदस्य छन् । ‘गालामा दारी, काँधमा जिम्मेवारी’ यो ग्याङको नारा छ । समूहको नाउँअघि दारी शब्द किन जोडिन पुग्यो भन्ने विषयमा सदस्यहरू पनि प्रस्ट छैनन । तर, ग्याङका सदस्यहरूले दारी पाल्नुपर्ने भने छैन । सफा र चिटिक्क अनुहार भएका तन्नेरीहरू छन् ग्याङ सदस्य । हो, उनीहरूमा गाउँसमाजका लागि काम गर्ने अन्तप्र्रेरणा छ र तत्परता पनि । बडो आत्मविश्वास र संकल्पका साथ सामुदायिक काममा लागेका छन् दारी ग्याङका ‘ग्याङस्टर’ हरू । 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेशद्वार मिथिला नगरपालिकाको ढल्केवरमा सार्वजनिक सरसफाइबाट उनीहरू समूहबद्ध भए । ढल्केवर बजारक्षेत्रका करिब तीन सय पसललाई फोहोर फाल्ने भाँडोसमेत वितरण गरे । त्यसपछिका दिनमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै आएको ग्याङले विभिन्न विपत्का बेला राहत तथा उद्धार कार्य, शैक्षिक सामग्री वितरण र आवाजहीनहरूको आवाज बनिदिने जस्ता काममा संलग्न छ । 

जिल्लाको भरतपुर नगरपालिकामा बलात्कृत भएकी ७ वर्षीया बालिकाको परिवारलाई ग्याङले हालसालै राहत सामग्री उपलब्ध गराएको छ । ग्याङले मिनपा–२ नकटाझिजको एक अशक्त परिवारलाई खाद्यान्नसहित लत्ताकपडाको जोरजाम गरिदिएको छ । 

चेतनामूलक कार्यक्रममा पनि ग्याङको उत्तिकै सक्रियता छ । सडक दुर्घटना न्यूनीकरणबारे टोलछिमेकका मानिस र बटुवाहरूलाई ट्राफिक नियमसम्बन्धी ज्ञानगुनका कुरा सिकाउने यो ग्याङका सदस्यहरूले ढल्केवरका तीनवटा चोकमा १५ हजार रुपैयाँ खर्चेर जेब्राक्रसिङ्ग बनाए । सडक डिभिजन कार्यालय र नगरपालिकाको ध्यानाकृष्ट गराउँदा पनि सुनुवाइ नभएपछि उनीहरू आफैंले चन्दा संकलन गरी जेब्रा क्रसिङ्ग बनाएको दारी ग्याङका अगुवा देवराज घिमिरेले बताए ।

सानातिना कार्यक्रमका लागि दारी ग्याङले चन्दासहयोग लिँदैन । आफ्नै सदस्यहरूबाट रकम संकलन गरी कार्यक्रम सञ्चालन गर्छ । ठूला कार्यक्रमका लागि स्थानीय संघस्थाको मद्दत लिने यो ग्याङलाई ढल्केवर क्षेत्रबाट विदेशिएका युवाले सहयोग पठाउँछन् । डस्टबिन, राहत तथा शैक्षिक सामग्री वितरणजस्ता १५ वटा कार्यक्रम गर्दा समेत कतैबाट सहयोग लिनु नपरेको घिमिरेको भनाइ छ । 

परोपकारी कार्यमा अत्यधिक सक्रिय देखिएको दारी ग्याङलाई नगरपालिकालगायत विभिन्न संस्थाले विभिन्न कार्यक्रम कार्यान्वयन तथा समन्वयको जिम्मेवारी दिने गरेका छन् । मिथिला नगरपालिका कार्यालयले नगरस्तरीय बालक्लब गठनको जिम्मेवारी पनि दारी ग्याङलाई दिएको उपप्रमुख ताराकुमारी बस्नेतले बताइन् । ‘यहाँ हुने कुनै पनि कार्यक्रममा दारी ग्याङलाई अनिवार्य खोज्ने गरिएको छ ।’

दारी ग्याङमा अध्यक्ष र सचिवजस्ता पदाधिकारी छैनन् । सबै सदस्यको बराबर मर्यादा छ । सदस्यहरूले पनि आफ्नो रुचि र हैसियतअनुसार काममा संलग्न हुन्छन् । अलिक बढी सक्रिय ग्याङ सदस्यलाई अगुवासम्म भन्ने गरिएको छ । ग्याङको अबको बाटो के ? अगुवा घिमिरेले भने, ‘आवश्यकताका आधारमा सामाजिक कार्य नै गर्ने हो ।’ 

 

प्रतिक्रिया दिनुहोस्