प्रदेश २ मा धुर्मुस–सुन्तलीका लागि खुत्रुके महाअभियान



जनकपुरधाम : धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खुत्रुके महाअभियान सुरु गरेको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले शनिबार महोत्तरीको बर्दिवासमा एक कार्यक्रमको आयोजना गरी खुत्रुके महाअभियान सुरु गरेको हो ।

रंगशाला निर्माणमा सहयोग गर्न खुत्रुके महाअभियान सुरु गरिएको महासंघ अध्यक्ष हिरा गौतमले जानकारी दिए ।

होटलमा सेवा लिन आउने जो कोहीले सहयोग गर्न सक्ने गरी प्रदेश २ का ८ वटै जिल्लाका ५ सय होटलको काउन्टरमा खुत्रुके राखिनेछन् । होटलको काउन्टरमा राखिने खुत्रुकेमा जम्मा भएको रकम फाउन्डेसनलाई हस्तान्तरण गरिने गौतमले बताए ।

खुत्रुके महाअभियान घोषणा कार्यक्रममा सहभागी फाउन्डेसन अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आफूहरूले अन्तिमपटक सहयोगका लागि हात फैलाएको भन्दै देशविदेशमा बस्ने सबैलाई सहयोगको अपिल गरे । कट्टेलले भने, ‘यो तपाईंहामी सबैको अभियान हो, अन्तर्राष्ट्रिय रंगशाला बनिसकेपछि रंगशालाकै आम्दानीबाट फाउन्डेसनले देश विकास गर्दै समाजसेवा गर्नेछ, अहिले हामीलाई ३ करोड नेपालीको सहयोगको आवश्यकता छ ।’

महोत्तरीको बर्दिवासमा अत्यन्त विपन्न, दलित तथा पिछडिएका मुसहरका लागि फाउन्डेसनले एकीकृत नमुना बस्ती बनाएको छ । सोही बस्तीका अध्यक्ष बिल्टु सदा र मञ्जय सदाले समेत रंगशाला बनाउन सहयोगस्वरूप कट्टेललाई  ५/५ हजार रुपैयाँ दिएका छन् ।

धुर्मुस–सुन्तलीले बस्ती बनाइदिएपछि जीवनले नयाँ रूप लिएको बताउँदै आम्दानी बढेपछि सहयोग गर्ने इच्छा जागेको बिल्टु सदाले बताए ।

खुत्रुके महाअभियानको घोषणासभामै प्रदेश २ का होटल व्यवसायी तथा व्यापारीहरूले रंगशाला निर्माणका लागि रु २२ लाख ४० हजार ५ सय रकम फाउन्डेसनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका छन् ।

२० बिघा ६ कट्ठा जग्गामा बन्ने रंगशालाको अहिले डिजाइनको काम भइरहेको र अहिलेसम्म रंगशाला निर्माणका लागि साढे पाँच करोडभन्दा बढी रकम सहयोगबापत प्राप्त भइसकेको कट्टेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्