मलेसियामा विषाक्त मदिरा सेवनबाट मर्नेकाे स‌ख्या १९ पुग्याे



काठमाडौँ : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टि भइसकेको छ । 

यसअघि दूतावास स्रोतले ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । तर ७ जनामध्ये १ जना भने नेपालीभाषी म्यानमारका नागरिक रहेको बताइएको छ । 

विषाक्त मदिरा सेवनका कारण सेलाङगोर र क्वालालुम्पुरक्षेत्रमा १९ जनाको मृत्यु भइसकेको छ ।

 

विभिन्न पसलमा सिलबन्दी

यसैबीच मलेसिया प्रहरीले कालाङ उपत्यकाका विभिन्न मदिरा पसलमा सिलबन्दी गरेको छ । खाद्य गुणस्तर मापदण्ड पूरा नगरेको मदिरा उत्पादन तथा विक्री वितरण गरेको भन्दै केही पसलबाट मदिरा जफत गरी सिलबन्दी गरिएको मलेसियाली सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । 

मदिरा नपिउन सरकारको अपिल

यसैबीच मलेसियाको स्वास्थ्य मन्त्रालयले तत्कालका लागि उक्त क्षेत्रको मदिरा नपिउन सर्वसाधरणलाई आग्रह गरेको छ । प्रारम्भिक अनुसन्धानमा यस्ता कम गुणस्तरका मदिरामा मिथानोलको मात्रा बढी भेटिएको र यसले स्वास्थ्यमा गम्भीर असर गरेको पाइएको छ ।

५१ जना बिरामी, १४ को अवस्था अझै गम्भीर

मलेसियाको स्वास्थ्य मनत्रालयले जनाएअनुसार विषाक्त मदिरा सेवनका कारण ५१ जना बिरामी परेका थिए । बिरामी परेका ५१ जनामध्ये ४८ जना विदेशी नागरिक भएको मलेसिया सरकारले बताएको छ । जसमा नेपाली, म्यानमार, बङ्गलादेशी र इण्डोनेसियन रहेका छन् । बिरामी परेकामध्ये जसमध्ये १९ जनाको मृत्यु भइसकेको छ भने १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बिरामीमध्ये धेरै नेपाली नागरिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्