क्वारेन्टाइनमा गर्भवतीलाई सकस



डोटी : डोटीको दीपायल सिलगढी नगरपालिका –२ को देवी माध्यमिक विद्यालय खातिवाडामा रहेको क्वारेन्टाइनमा बस्दै आउनुभएकी स्थानीय गीता आउजीले जेठ २२ गते राति एक बजेर ४४ मिनेट स्वास्थ्यकर्मीको उपस्थितिबिना नै छोरा जन्माए । क्वारेन्टाइनभित्र न्यूनतम स्वास्थ्य सुविधाको अभावमा जोखिमपूर्ण रुपमा सुत्केरी हुनेमा डोटी जिल्लामा गीता आउजी मात्र एक्ली छिन, पछिल्लो तीन हप्ताको अवधिमा जिल्लाका विभिन्न क्वारेन्टाइनभित्र पाँच जना महिला सुत्केरी भएका छन् ।

दिपायल सिलगढी नगरपालिका –२ का वडा अध्यक्ष राजेन्द्र खडकाले भने,  ‘राति करिब पौने दुई बजे उनले बच्चा जन्माएकी रहिछन् । हामीलाई बिहान मात्रै जानकारी भयो । क्वारेन्टाइनमै बच्चा जन्मिएको जानकारी पाएपछि हामिले तुरुन्तै स्वास्थ्यकर्मीहरूको टोली सम्बन्धित क्वारेन्टाइनमा पठायौँ ।’

यसबिचमा डोटीको सायल गाउँपािलका–६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा दुई महिला, सायल गाउँपालिकाकै गोलेश्वरी आधारभूत विद्यालयको क्वारेन्टाइनमा एक जना, दिपायल सिलगढी नगरपालिका–२ स्थित देवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा एक महिला र शिखर नगरपालिका –३ को भवानी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी एक महिला सुत्केरी भएका छन् ।

क्वारेन्टाइनभित्र स्वास्थ्यकर्मीको सहयोगबिना सुत्केरी हुनु आमा र शिशु दुवैका लागि जोखिमपूर्ण हुने डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योति पाण्डे बताउँनुहुन्छ । डा. पाण्डेले भने, ‘पहिलो कुरा सामान्य अवस्थामा पनि स्वास्थ्यकर्मीको सहयोगबिना नै बच्चा जन्माउनु जोखिमपूर्ण हुन्छ, त्यसैमा कोरोनाको महामारी भएका बेला झनै जोखिम हुन्छ । सुत्केरी अवस्थामा महिलाहरू कमजोर हुने र रोग प्रतिरोध क्षमता पनि कम हुन्छ, यदि कसैलाई कोरोनाको सङ्क्रमण छ भने सुत्केरी महिला र शिशुलाई छिटो सङ्क्रमण हुन सक्छ ।’

सुत्केरी व्यथा लागेका महिलाहरूलाई स्वास्थ्यकर्मीहरूले तत्काल आरडीटी टेस्ट गरेर उनलाई छुट्टै क्वारेन्टाइनमा पठाउनु उपयुक्त हुने, क्वोरेन्टाइनमा बसेका महिलाहरूलाई सुत्केरी व्यथा लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा ल्याउनुपर्ने बताइएको भए पनि कार्यान्वयन हुन सकेको छैन । यसअघि जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका दुई जना महिलाहरू सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा ल्याइएको र सावधानी अपनाएर सुत्केरी गराएको बताइएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण ग्रामीण क्षेत्रमा महिला तथा बालबालिकाहरूले स्वास्थ्य सेवाबाट बढी प्रभावित हुनु परेको छ । डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गर्दैआएको संस्था सामुदायिक विकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दीपा सिंहले भने, ‘धेरै जसो ठाउँमा मापदण्ड अनुसारका क्वारेन्टाइन छैनन्, महिला र बालबालिकाहरूले क्वारेन्टाइनमा बढी समस्या भोग्नुपरेको छ ।’

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तरगतको स्वास्थ्य निर्देशनालयले जेठ २५ गते क्वारेन्टाइन व्यवस्थापन सम्बन्धमा परिपत्र जारी गर्दै गर्भवती महिलाहरू लगायत विशिष्ट शारीरिक अवस्था भएका र दीर्घरोगीहरूलाइ क्वारेन्टाइनमा रहँदा विभिन्न किसिमका स्वास्थ्य समस्या रहेको भन्दै स्वास्थ्य संस्थाको नजिकै स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा अलग्गै क्वारेन्टाइन व्यवस्था गर्न भनेको भए पनि त्यस्तो हुन सकेको छैन । दीर्घरोगी र गर्भवती महिलाहरूको अलग्गै व्यवस्थित रुपले तथ्याङ्क राखिएको समेत पाइँदैन ।

क्वारेन्टाइन व्यवस्थापनमा स्थानीय तहलाई समेत समस्या भएको छ । एउटै विद्यालयमा १५० भन्दा बढी व्यक्तिहरूलाई राख्नुपर्ने बाध्यता रहेको छ । गर्भवती महिलाहरू क्वारेन्टाइनमा नै सुत्केरी हुन थालेपछि स्थानीय तहहरूले पछिल्लो समयमा सतर्कता अपनाउन थालेका छन् । सायल गाउँकार्यपालिका सदस्य हर्कबहादुर लुहारले भने, ‘हामीले गर्भवती महिला र बालबालिकाको विशेष स्याहार गर्न भनेका छौँ, हाम्रो गाउँपालिकाको महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी महिलालाई सुत्केरी व्यथा लागेको थाहा पाएपछि मैले आफैँ एम्बुलेन्स लिएर गई सुत्केरी महिलालाई अस्पताल पुर्याएको छु ।’ रासस

प्रतिक्रिया दिनुहोस्