भरतपुर महानगरको छैठौं नगरसभा पूर्वाधार विकासमा जोड



चितवनः आज सुरू भएको छैठौं नगरसभामा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आर्थिक वर्ष ०७७-०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कोभिड केन्द्रित रहेको छ । नीति तथा कार्यक्रम आउँदो वर्षका लागि विनियोजित बजेट (कोभिड-१९) बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई रोजगार सिर्जना गर्न केन्द्रित छ ।

मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ति गर्दै जाने, नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन बजेट केन्द्रित रहेको उनले बताएकी छिन् ।

महानगरको बजेट ४ अर्ब १५ करोड
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि रु ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार बिनियोजन गरेको छ ।महानगरको आज आयोजित छैटौं नगर सभामा सो वजेट प्रस्तुत गरिएको हो । जस मध्ये ८ करोड चालु खर्च रहेको छ ।

वजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्बती शाह ठकुरीले आम्दानी तर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी बित्तीय हस्तान्तरणबाट १ अर्ब ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्ववाँडफाँडबाट रु ४६ करोड १२ लाख ५१ हजार रहेको विबरण प्रस्तुत गरिन् ।

यस्तै आम्दानी तर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोषबाट २ करोड र सडकबोड नेपालबाट १ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्