भारतद्वारा दर्जनौ पाकिस्तानी कूटनीतिक कर्मचारीलाई निष्कासन



एजेन्सी : भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतङ्कवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै देशबाट निष्कासन गर्दैछ । भारतीय विदेश मन्त्रालयले पाकिस्तानस्थित भारतीय उच्च आयोगमा पनि सोही सङ्ख्यामा कर्मचारी कटौती गर्ने बताएको छ ।

पाकिस्तानी अधिकारीहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन् । तर, दुई आणविक शक्ति राष्ट्रबीच भारतले तीन साताअघि दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेपछि तनाव बढेको बीबीसी नेपाली सेवाले जनाएको छ ।

भारतीय सेनाको आवतजावतसम्बन्धी सूचना हासिल गर्ने प्रयास गरेको आरोप उनीहरूमाथि लगाइएको थियो । भारतीय सञ्चारमाध्यमले इस्लामावादमा रहेका दुई जना भारतीय कर्मचारीलाई गरिएको भनिएको दुर्व्यवहारका कारण पछिल्लो कदम चालिएको हुन सक्ने जनाएका छन् ।

अघिल्लो हप्ता भारतीय सरकारले आफ्ना दुई कर्मचारीलाई पाकिस्तानले अपहरण गरेको आरोप लगाएको थियो । तर, पाकिस्तानले सवारी चलाउँदा पैदलयात्रीलाई ठक्कर दिएकाले प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्