विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ३७ करोड बजेट



विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३७ करोड बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि २०७७/७८ का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा दुई अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट सार्वजनिक गरेको हो ।

बुधबार बसेको छैठौं नगरसभामा महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ लाख आम्दानी हुने बताइन् । त्यस्तै, वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट सशर्त अनुदान एक अर्ब २ करोड र प्रदेशबाट सशर्त दुई करोड ९० लाख अनुदान प्राप्त हुने महानगरले बताएको छ।

त्यस्तै, संघीय सरकार विशेष अनुदानबाट १३ करोड रुपैयाँ, प्रदेशबाट समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट तीन करोेड २६ लाख महानगरपालिकामा प्राप्त हुने बजेटमा उल्लेख गरेको छ ।

महानगरपालिकाले पुँजीगत खर्चतर्फ एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षाका लागि ३६ करोड रुपैयाँ खर्च हुने बताएको छ ।

महानगरपालिकाले स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार रुपैयाँ, शैक्षिक विकास कार्यक्रममा ५६ करोड १३ लाख ५ हजार रुपैयाँ, महिला, बालबालिका, युवा विकास तथा खेलकुदमा दुई करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, फोहोर व्यवस्थापनका लागि ल्याडफिल साइटको जग्गा खरिद तथा फोहोरमैला व्यवस्थापनमा ११ करोड ४९ हजार ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्