जनता समाजवादी पार्टीले असार १६ गतेदेखि देशव्यापी विरोध प्रदर्शन गर्ने (विज्ञप्तीसहित)



काठमाडौंः जनता समाजवादी पार्टी, नेपालले असार १६ गतेदेखि देश व्यापीरुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।

संसदको राज्य व्यवस्था समितिले गरेको नागरिकता ऐन संशोधनका लागि गरेको प्रस्तावको विरोधमा पार्टीले प्रदर्शन गर्ने भएको छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगिकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र निजले नेपालको अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधानको सो पार्टीले विरोध गरेको हो ।

पार्टीले त्यसको विरोधमा असार १६ गते काठमाडौंलगायत प्रत्येक जिल्ला सदरमुकाम र अन्य मुख्य शहरहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने जनाएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकिकरणपछि बनेको जनता समाजवादी पार्टीले नयाँ प्रावधानका कारण महिलाप्रति लैंगिक विभेद, असमानता र महिला हिंसालाई प्रोत्साहन दिने कार्य गरेको बताएको छ ।

‘उक्त संशोधनको प्रस्तावले एकातिर महिला र पुरुषकाबीच लैंगिक विभेद गरेको छ भने अर्कोतिर युगौंदेखि नेपाली जनताको भारतीय लगायत अन्य मुलुकका जनताहरुबीच कायम रहेको पारिवारिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि सम्बन्धलाई अवरुद्ध गर्ने’ भनी पार्टीले जनाएको छ ।

‘विगतमा नागरिकता ऐनमा भएका वैवाहिक अंगिकृत व्यवास्थालाई नै यथावत राखिनु पर्दछ,’ अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणका आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरिनुपर्दछ ।’ सो पार्टीले नयाँ विधेयकका कारण गोर्खा सेनाको रुपमा विदेशमा कार्यरत नेपालीहरुको सन्तानलाईसमेत गैरनागरिक बनाई राख्ने प्रयास गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्