एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु



ओखलढुङ्गा : ओखलढुङ्गाको लिखुगाउँपालिका वडा नं. ६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखुगाउँपालिका वडा नं. ४ का २२ वर्षीय सुदर्शन खत्री रहेका छन् ।

बिहीबार बिहान प्रदेश नम्बर ३–०१–००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि वडा नं. ९ पोकलीतर्फ जाँदै गर्दा वडा नं. ६ को कात्तिके भिरमा दुर्घटना भएको हो । भिरको उकालोबाटोमा जाँदैगर्दा एक्कासि अनियन्त्रित भई कात्तिके भिरबाट अन्दाजी तीन सय मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घटनास्थलमै मृत्यु भएको गाम्नाङटार प्रहरी चौकी गाम्नाङटारका प्रमुख सीताराम भण्डारीले जानकारी दिए ।

चालक खत्री भने नयाँ भएको कारण पनि दुर्घटना भएको हुन सक्ने प्रहरीको आशङ्का रहेको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकालाई वडा नं. ३ का स्थानीय हर्कबहादुर थापामगरले चार महिनाअघि मात्रै हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्