रुकुम घटनाका फरार ५ जना अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी (आदेशसहित)



रुकुमः रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरि भएको घटनाका अभियुक्तमध्ये फरार ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रुकुम जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्दै नियमानुसार गर्न आदेश गरेको हो । नवराजसहित ६ जनाको हत्यामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गरिए पनि हालसम्म २९ जना अभियुक्त पक्राउ परेका छन् ।

घटनापछि दर्ता भएको अभियोग पत्र र थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले यस्तो आदेश गरेका हुन् । अदालतको आदेशमा भनिएको छ ‘फरार प्रतिवादीहरू तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढाका नाममा नियमानुसारको पक्राउ पूर्जी जारी गरि नियमानुसार गर्नू ।’

आदेशमा घटनाका २३ प्रतिवादीलाई मुद्दा पुर्पक्षको लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेसँगै कारागार चलान भएका छन् । एक लाख धरौटीमा छोड्न आदेश गरेका अर्का प्रतिवादी पनि धरौटी रकम बुझाउन नसकेपछि उनीहरुसँगै कारागार चलान भएका छन् ।

नवराज विककी प्रेमिका भनिएकी किशोरीकी आमा पनि धरौटी बुझाउन नसकेपछि जेल गएकी छन् । यो घटनामा अन्य ३ जनालाई साधारण तारेखमा छोड्न आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्