प्रहरीका निरीक्षक शाहीलाई ७ दिन थुनामा राख्न अनुमति



काठमाडौं : जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

ललितपुर प्रहरी परिसर जावलाखेलबाट पक्राउ परेका शाहीलाई लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका एसपी प्रविण धितालका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत अनुसन्धान हुनेछ ।

ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा शाहीको पनि संलग्नता भेटिएको एसपी धितालले बताए ।

त्यसैले बिहीबार उनलाई पनि पक्राउ गरी हिरासतमा राखिएको थियो । अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ ।

प्रहरीका अनुसार शाही लागूऔषध दुर्व्यवसनी भएको खुलेको छ । उनको आरोपितहरुसँग नियमित सम्पर्क देखिएको थियो ।प्रहरीले उनीहरुको साथबाट ६६७ थान डाइलेक्स बोतल, १ हजार १ सय ८६ ट्याब्लेट, स्मो प्रोक्सिभोन क्याप्सुल ३ सय ३० थान र एक लाख नगद पनि बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्