कोरोनाले गर्दा कृषि क्षेत्रमा असर, समयमा धान खेती नहुदा कृषक चिन्तामा



वीरगन्जः विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई नेपालमा रोकथाम तथा नियन्त्रण गर्न सरकारले करिब तीन महिनासम्म लगाएको लकडाउनले गर्दा कृषि क्षेत्रमा पनि ठूलो असर परेको छ । लकडाउनले गर्दा पर्सा जिल्लामा समयमै धान रोपाई हुन सकेको छैन् ।

निरन्तरको लडकडाउनले गर्दा समयमै मल, खाद्य, ईन्धन, खेत जोत्ने ट्याक्टर उपलब्ध नहुँदा धान रोपाईमा ढिलो हुँदा कृषकहरु चिन्तित नै बनेका छन । जिल्लाको बहुदरमाई नगरपालिका वडा २ सिसरिया बैरियाका हारुण अंसारीले लकडाउनले गर्दा बेरोजगार सहित समयमा खेतीपाती गर्न नसकेको गुनासो गरे ।

उनले भने, लकडाउनले गर्दा तीन महिना देखि काम ठप्प नै थियो । आम्दनीको श्रोत मरेपछि बाँझो रहेको खेत खनजोत गर्न पनि समस्या हुदै आएको थियो । धान रोपाईको समय वित्न लागेपछि बाध्य भएर लकडाउँनमै अरु संग सापटी लिएर खेतजोत्न गर्न लगाई बिउँ छरेका हौं ।

लकडाउनले उद्योग व्यापार, व्यवसायी, कलकारखाना लगायत सार्वजनिक सवारी साधन नचल्दा दैनिक ज्यालादारी गरी खानेलाई समेत समस्या हुन थालेको थियो । स्थानिय नजमा खातुनलाई बन्दाबन्दीको अवधिमा दैनिकी चलाउँन समेत धौं धौं नै परेको थियो । विरामी पर्दा औषधी किन्ने पैसा समेत नहुदाँ जोहो गरेर उपचार गर्नु पथ्यो उनले भनिन्, अहिले खेतीपातीको समय आएपछि अरु संग सापटी नै लिएर धान खेती गर्न लागेको छौ ।

समयमै मल र सिचाई नभएपछि अहिले सम्म खेती गर्न नसकेको बहुदरमाई नगरपालिका ६ गम्हरीयाका कृषक सम्सुदीन देवानले बताए । उनले भने, १२ कठ्ठा मध्ये डेढ-दुई कठ्ठा जग्गामा पम्प चलाएर पानी पटाई धान खेती गरेपनि समयमै मल नपाएपछि रोपिएको धान सुखेर पहेलो हुन थालेको छ ।

कृषी समाग्री कम्पनी प्रदेश २ का प्रादेशिक कार्यालय वीरगन्जका सहायक प्रबन्धक केदार नाथ केसीले पर्सा जिल्लामा मलको अभाव नरहेको दावी गरे । उनले भने, दुई साता अगाडी मात्र हामी संग आवद्ध रहेको ९५ वटा सहकारी मार्फत २ मैट्रिक टन युरिया, ४ मैट्रिक टन डिएपी र आवश्यकता अनुसार पोटास उपलब्ध गराएका छौ ।

चालु आर्थिक बर्षको असाढ ११ गतेसम्म हामी संग आवद्ध रहेको ९५ वटा सहकारी मार्फत १७ हजार ४ सय ६९ युरिया मेट्रिक टन वितरण गरीसकेको उनले बताए । जसमध्ये युरिया ११ हजार ५ सय १३ मेट्रिक टन, डि.ए.पी ५ हजार ७ सय ८९ मेट्रिक टन र पोटास १ सय ६६ मेट्रिक टन रहेको उनले बताए । युरिया मलको केहि अभाव भएपनि डि.ए.पी मल आउँने क्रम रहेकोले मल आउँने वित्तिकै थप वितरण हुने उनले बताए ।

कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीले गर्दा ढिला गरी शुरु भएको धान खेतीले गर्दा जिल्लामा यो बर्ष धानको उत्पादन घट्न सक्ने कृषको अनुमान छ । गुणस्तरीय र उन्नत बीउको प्रयोगमा कमी, सिंचाइको पनि अभाव, रासायनिक मलखादको असन्तुलित प्रयोग, जलवायु परिवर्तन लगायतका कारणले धानको उत्पादकत्व घटदै जाने अनुमान कृषकको छ ।

पर्सा जिल्लामा आर्थिक बर्ष २०७६-०७७ मा ५० हजार ४६ हेक्टरमा धान खेती भएको थियो । जसमा ३ दशमलव ५ प्रतिशत मैट्रिक टन प्रति हेक्टरमा धान उत्पादन भएको छ । कुल २ लाख २७ हजार २ सय ५० मैट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्