एक वर्षभित्र ५ हजार बालिकाको शिक्षा बिमा गराउँछाै‌ :  मुख्यमन्त्री राउत



जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले यसै आर्थिक वर्षमा ५ वर्ष मुनिका ५ हजार बालिकाको शिक्षा बिमा गरिने बताएक छन् ।  

क्षिरेश्वरनाथ नपा ५ स्थित मदरसा अनवारुल उलमले आज आयोजना गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशभित्रका सबै बालिकाको बिमा गरिने कार्यक्रम रहे पनि यस आर्थिक वर्षमा ५ हजार बालिकाको बिमा गराउन लागिएको बताएका हुन् ।

 

पहिलो चरणमा दलित, मुस्लिम र आर्थिक रुपले विपन्न परिवारका बालिकाको बिमा गरिने मुख्यमन्त्री राउतले जानकारी दिए । उनले समाज रुपान्तरणका लागि महिला शिक्षाको महत्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम सञ्चालन गरिरहेको उनले उल्लेख गरे ।

 

कार्यक्रममा उनले हरेक वर्ष त्यस्ता विद्यार्थीलाई प्रत्येक जिल्लामा एक÷एक हजार साइकल वितरण गरिने बताए ।  मुख्यमन्त्री राउतले प्रदेश २ मा मुस्लिम समुदायको अवस्था दलितभन्दा पनि पछाडि बताउँदै छोरा छोरीबीचको शिक्षामा समानता ल्याउनसमेत आग्रह गरे ।

 

 

उनले भने, ‘हाम्रो सोचमा अझै परिवर्तन आउन सकेको छैन, छोरा र छोरीलाई हाम्रो समाजले समान व्यवहार गर्न नसकेकै कारण हामी पछि परेका छौं, अबको हाम्रो सोच समान शिक्षातर्फ आग्रह हुनुपर्छ । अनि मात्र हामी समाजलाई अघि बढाउन सक्छौ ।’

 

उनले प्रदेश सरकारको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा स्थानीय तहलाई पनि सहयोग गर्न आग्रह गरे । मदरसाका मोलबी नाजिर नदाफको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य सत्रुघ्न महतो, जयनुल राइन, जिसस सभापति रामदेव वनरैत यादव, नगरप्रमुख योगेन्द्र पजियारसहितको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्