नायिका प्रियंकाले बाँडिन् स्कुल ब्याग र सेनेटरी प्याड



ढल्केवर (धनुषा) : नायिका प्रियंका कार्कीले धनुषामा २ सय छात्रछात्रालाई स्कुल ब्याग वितरण गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले आयोजना गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नंं. ६ को निम्न माध्यमिक विद्यालय हरिपुर र वडा नं. १ को निमावि मंग्राहाका विद्यार्थीलाई नायिका कार्कीले स्कुल ब्याग वितरण गरेकी हुन् ।

आयंका फाउण्डेशनको समेत सहयोग रहेको कार्यक्रममा २ जना विद्यार्थीलाई स्कुल ब्याग र ३६ जना छात्रलाई सेनेटरी प्याड वितरण गरिएको थियो । कार्यक्रममा आयंका फाउन्डेसनका अर्का प्रतिनिधि नायक आयुष्मान देशराज जोशीको पनि सहभागिता रहेको थियो । आयंका फाउण्डेशनका प्रतिनिधिसमेत रहेकी नायिका कार्कीको अध्यक्षता रहेको कार्यक्रममा धनुषाधाम नपाका उपप्रमुख विद्यादेवी भुजेल प्रमुख अथिति रहेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनाल विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला, समाजसेवी शिक्षक र विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अघि प्रियंका सहितको समुहले विद्यालय हाताभित्र वृक्षारोपण समेत गरेको थियो । यसैगरी समुदाय प्रहरी साझेदारी र आयंका फाउण्डेशनका प्रतिनिधिले मिथिला नगरपालिका वडा नं. ३ स्थित रहेको निमाविमा समेत १ सय विद्यार्थीलाई स्कुल ब्याग र सेनेटरी प्याड वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्