साता दिनदेखि खानेपानी अवरुद्ध



बागलुङ : पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ । यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् ।

सक्नेले महँगोमा ‘जार’ को पानीले खाँचो टारेपनि सबैको स्थिति उही छैन । पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ । कतिपयले बलेनीको पानी जोगाएर नुहाइधुवाइ गर्छन् । शौचालय बस्ने पानीसम्म नभएको उपभोक्ताको गुनासो छ । बागलुङ नगरपालिका–२ की दीपा पौडेलले लुगा धुन छिमेकी गाउँ रात्माटा पुगेको सुनाए । तिर्खा जेनतेन मेटेपनि भान्सा र सरसफाइमा पानीको अभाव छ ।

आजभोलि नै खानेपानी नआए हाहाकार निम्तने अवस्था छ । खानेपानी आउने भुदी खोलाको मुहान, दोविल्ला र रेशमा पहिराले क्षति पु-याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । तीन दिनअघि मर्मत सकेलगत्तै दोविल्लामा पुनःपहिरो खस्दा पाइप बगेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । “नेपाली सेनाको समेत सहयोगमा अहिले मर्मतको काम चलिरहेको छ”, उनले भने, “भोलिसम्ममा खानेपानी सुचारु हुन्छ ।”

अर्जुनवाण गण घोडाबाँधेका जम्दार विवेक अधिकारीको नेतृत्वमा २० जना सैनिक पहिरो पन्छाउने र मर्मतको काममा खटिएका छन् । संस्थाका प्राविधिक दिनरात र झरी नभनी काममा लागेको प्रबन्धक शर्माको भनाइ छ । दोविल्लामा खसेको पहिरोले खानेपानीका १४ वटा पाइप बगाएको जनाइएको छ । ‘ग्याविन जाली’ भरेर त्यही माथिबाट पाइप ल्याउनुपर्ने भएकाले समय लागेको प्रबन्धक शर्माले बताए । अघिल्लो साता गएका पहिरोले भुदी, दोविल्ला र रेशमा गरी १७ वटा पाइप बगाएको थियो ।

निरन्तर वर्षाका बीच मर्मत गरिए पनि पुनः दोविल्लामा खसेको पहिरोले पाइपमा क्षति पु-याएको हो । सदरमुकाममा रिठेखोला, रेशखोला र भुदीखोला मुहानबाट खानेपानी आउँछ । रिठेखोलाबाट प्रतिसेकेण्ड ३ दशमलव ५, रेशखोलाबाट १७ र भुदीखोलाबाट २० लिटर पानी दैनिक आउने गर्छ । सदरमुकाममा उपभोक्ता थपिए पनि खानेपानीमा पुरानै आयोजनाको भर पर्नुपर्ने अवस्था छ । खानेपानी स्वच्छ र वितरण पनि प्रयाप्त छैन । वर्षा हुनासाथ धारामा धमिलो पानी खस्छ । आयोजनासँग पानी सङ्लो पार्ने उपकरण छैन । वर्षायाममा खोलानोला बढ्ने र मुहान पनि धमिलिने हुँदा समस्या हुने गरेको संस्थाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्