एक अर्ब ७६ करोडमा आधुनिक सडक निर्माण गर्दै भीमदत्तनगर



कञ्चनपुर : कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ । भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारका सबै गल्लीमा नालीसहित सडक बनाउन लागिएका हुन् । सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको बोलपत्र आव्हान भैसकेको छ ।

भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण सडक निर्माणको कार्य केही ढिलो भएपनि ठेक्का बन्दोवस्ती भइ सकेको बताए। “सडक निर्माणको कार्य समयमै शुरु गरेर निर्धारित समयमै पूरा गर्ने लक्ष्य लिएका छौँ”, उनले भने, “साझेदार संस्था निर्धारि तसमयमै निर्माण कार्य पूरा गर्ने सहमति भएको छ ।”

भीमदत्त नगर बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नालीसहित सडक निर्माण गर्ने योजना छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नालीसहित पक्की सडक निर्माण गरिनेछ । त्यसमध्ये पहिलो चरणमा बजार क्षेत्रमा सडक बनाउन लागिएको हो । पहिलो चरणमा पाँच गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने र त्यसपछि अन्य सडक निर्माणको कार्य शुरु गरिने नगरप्रमुख विष्टले बताए ।

नालीसहितका पक्की सडकका लागि सबै पुराना सडक भत्काइने भएका छन् । सडक निर्माणसँगै फुटपाथ हटाइने भएको छ । नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक तरिकाले कालोपत्रे गरिनेछ । पश्चिमी सीमा नाकाको सहर महेन्द्रनगर भारतको राजधानी दिल्लीदेखि झण्डै ३५० किलोटिमर दूरीमा छ । भीमदत्त नगरमा गत वर्ष आधुनिक बसपार्क निर्माण गरी सञ्चालमा आएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण, सडक निर्माण लगायतका योजना सञ्चालनमा रहेका छन । रासस

प्रतिक्रिया दिनुहोस्