जापानी कम्पनीले बनायो फोन गर्न मिल्ने स्मार्ट मास्क



एजेन्सी : विश्वमा कोरोना भाइरस संक्रमणको संख्या बढि रहँदा मानिसहरु सामान्य जनजीवनतर्फ अभ्यस्त हुन थालिसकेका छन् ।

कोरोना भाइरस विरुद्धको खोप निकट भविष्यमा बन्ने सम्भावना अझैपनि नदेखिएका बेला अहिलेका लागि सबैभन्दा उत्तम विकल्प भनेको सावधानी अपनाउनु नै हो । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैभन्दा उत्तम अभ्यास भनेको स्यानिटाइजर तथा मास्क लगायतको प्रयोग नै हो ।

यहीँ परिस्थितिलाई मध्यनजर गर्दै जापानको एउटा कम्पनीले अनुहारमा लगाउने अत्याधुनिक मास्क तयार गरेको छ । उक्त अत्याधुनिक मास्कमा ब्लुटुथ समेत जडान गरिएको छ ।

उक्त स्मार्ट फेस मास्कबाट मेसेज पठाउन सकिने, फोनकल गर्न सकिने तथा जापानी भाषाबाट अन्य विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सकिन्छ ।

डोनट रोबोटिक्सले तयार गरेको सो मास्कको नाम सि मास्क राखिएको छ । सेतो प्लास्टिकबाट बनेको उक्त मास्कमा ब्लुटुथ कनेक्सन रहेको छ ।

ब्लुटुथबाटै सो मास्कलाई एउटा एपको सहायताले स्मार्टफोन तथा ट्याब्लेटसँग जोड्न सकिन्छ । सो एपले बोलीलाई शव्दमा समेत रुपान्तरण गर्दछ । साथै सो मास्कले व्यक्तिले बोलेको शव्दको आवाजलाई समेत ठूलो बनाइदिन्छ । उक्त मास्कलाई अर्को सामान्य मास्कभन्दा माथि समेत लगाउन सकिन्छ ।

सो मास्कको सुरुवाती मूल्य ४० डलर तोकिएको छ । आगामी सेप्टेम्बरदेखि यो मास्कको व्यवसायिक उत्पादन सुरु हुने र सुरुवातमा ५ हजार थान बजारमा पठाइनेछ । भविष्यमा उक्त मास्क चीन, युरोप तथा अमेरिका लगायतका बजारमा समेत बिक्रि गर्ने लक्ष्य कम्पनीको छ ।

कम्पनीका कार्यकारी ताइसुके ओनोले जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘हामीले रोबोटको विकासमा वर्षौँसम्म कडा मेहेनत गर्यौँ । अहिले कोरोना भाइरसले परिवर्तन गरिदिएको समाजमा अनुकुलित हुनका लागि हामीले सोही प्रविधिको प्रयोग गरी यो मास्क तयार गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्