शनिबारसम्म ८७ नेपालीको शव नेपाल ल्याइयो



काठमाडौं : वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकामध्ये शनिबारसम्म ८७ जनाको शव नेपाल ल्याइएको छ । यसका लागि झण्डै तीनदेखि पाँच लाखसम्म खर्च लागेको छ ।

अन्तर्राष्ट्रिय चार्टर उडानमार्फत विदेशमा रहेका नेपालीको शव ल्याउन सो खर्च भएको बताइएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार शनिबारसम्म ८७ जनाको नेपालीको शव नेपाल ल्याइएको हो । साथै सम्बन्धित देशका विभिन्न अस्पतालमा राखिएका शवलाई अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउँदा भाडा महंगो भएको र त्यहाँबाट चार्टर उडान भएकाले पनि सामान्य अवस्थाको भन्दा बढी खर्च लागेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएयता मात्रै प्रमुख गन्तव्य देशमा तीन सय ३३ जनाको विभिन्न कारणले मृत्यु भएको थियो । शुक्रबार मलेसियाबाट १९ र शनिबार बिहान साउदी अरबबाट १५ जनाको शव ल्याइएको हो । मलेसियाबाट १८ शव नेपाल एयरलाइन्स र एक हिमालय एयरलाइन्सको चार्टर उडानबाट ल्याइएको छ । साउदीबाट पनि नेपाल एयरलाइन्समै शव काठमाडौं ल्याइएको बोर्डले जनाएको छ ।

मलेसियाबाट सिरहाका बलराम ठाकुर, जाजरकोटका वीरबहादुर कामी, धनुषाका विपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम विक, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहरा, इलामका पदमबहादुर सारु, बागलुङका शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दीपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दुस्खीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खत्वे र रुकुमका कुवीराम ओलीको शव ल्याइएको हो । यसअघि पनि मलेसियाबाट ११ जनाको शव काठमाडौं ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिएको छ ।

साउदीबाट ल्याइएका शवमा बागलुङका रविन किसान, मकवानपुरका खड्गबहादुर राई, रोल्पाका ढकप्रसाद भट्ट, राजेन्द्र विक, सर्लाहीका शुक्रबहादुर थापा मगर, महोत्तरीका जयनाथ मण्डल खत्वे, धनुषाका बेच्चन मुखिया विन, मकवानपुरका जीवन नेगी र लमजुङका खिमबहादुर मजाकोटीको हो । मलेसियाबाट शव ल्याउन प्रतिव्यक्ति एक लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

रोजगारदाताले सहयोग नगर्दा शनिबार पठाउन तय गरिएको डडेलधुराका नवराज पाण्डेको शव आउन सकेन ।

राजधानी रियादबाट झन्डै एक हजार किलोमिटर टाढाका अस्पतालमा शवहरू छन् । ती शवलाई रियादसम्म ल्याएर नेपाल पठाउँदा खर्च बढेको हो ।

साउदीमा तीन महिनायता एक महिलासहित १ सय २ नेपालीको मृत्यु भएको थियो । २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकाले उनीहरूको शव साउदीमै अन्त्येष्टि गरिएको छ । साउदीबाट अझै ५९ जनाको शव आउन बाँकी छ । मलेसियामा २३, कतारमा ११ र यूएईमा १४ जनाको शव बाँकी छ । नेपाली दूतावासहरूका अनुसार नेपाल एयरलाइन्सको ‘वाइड बडी’ विमानको पालो पाउन मुस्किल भएकाले शव पठाउन समय लागेको हो । वाइड बडी विमानले एकै पटक १८ वटासम्म शव बोक्न सक्छ भने ‘न्यारो बडी’ले तीनवटा मात्रै बोक्न सक्छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जुलाई पहिलो सातासम्म सबै शव नेपाल पठाइसकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्