सेयर बजार आजदेखि खुल्दै, सर्किट ब्रेकरको व्यवस्था पुरानै



काठमाडौं : तीन महिनादेखि बन्द रहेको पुँजी बजार आज (सोमबार)देखि खुल्दै छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) समिति बैठकले आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बजार खोल्न दिने निर्णय गरेको हो ।

सेबोनले आजदेखि लकडाउनअघिकै अवस्थामा बजार सञ्चालन गर्न निर्देशन दिएको छ ।

बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार नेप्सेलाई पठाएको पत्रमा बजार खोल्ने सम्बन्धमा आवश्यक तयारी गरी अग्रिम रूपमा बोर्डलाई जानकारी गराउनु भनिएको छ ।

बोर्डको निर्देशनका आधारमा नेप्से सञ्चालक समिति बैठकले आइतबार नै सोमबारदेखि बजार खोल्ने निर्णय गरेको छ । लकडाउनअघिकै अवस्थामा बजार सञ्चालन गर्ने निर्णय भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

सोहि निर्णय अनुसार अब हरेकदिन बिहान ११ देखि ३ बजेसम्म बजार सञ्चालन हुनेछ । साथै नेप्से परिसूचक र कम्पनीको सेयर मूल्यमा पनि पहिलेकै अनुसार सर्किट ब्रेकरको व्यवस्था लागू साउदले बताए ।

लकडाउनको बीचमा गत वैशाख ३० र ३१ गते दुई दिन बजार खुले पनि असामान्य अवस्था भन्दै दैनिक २ घण्टा मात्र चलाइएको थियो । सोहीअनुसार सर्किट ब्रोकरको व्यवस्था पनि परिमार्जन गरी २ प्रतिशतमा झारिएको थियो । यसकारण त्यो सामान्य अवस्थामा खोलिएको समय गणना नगर्ने हो भने बजार तीन महिनाभन्दा धेरै समय बन्द भएको बजार बल्ल खुल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्