‘सधैं रुखमुनि सुत्थे मदन भण्डारी’



उदयपुर : ‘सुरक्षाका कारण जननेता मदन भण्डारी सधैं रुखमुनि सुत्थे’, त्यो बेलाको इतिहासलाई सम्झँदै ८१ वर्षीय बलबहादुर सुनुवारले भने। लुकीछिपी बस्ने र भेटघाट स्थल (सेल्टर) दिएर राखेको उनले थपे, ‘यो त्यही रुख हो, जुन रुखमुनि मदन रातभर सुत्नुहुन्थ्यो र दिनभर बैठकका लागि मेरो घरमा आउनुहुन्थ्यो।’

सिरहाको तत्कालीन विष्णुपुरकट्टी गाविस ३, हालको धनगढीमाई नगरपालिका १४ राईरैनी गाउँ र उदयपुरको कटारी नगरपालिका ६ सर्रेआम्बासीको सीमा क्षेत्र का ८१ वर्षीय बलबहादुरको घरदेखि हर्रोको रुख ५० मिटर पर छ। ‘त्यतिबेला कहाँ यस्तो सरसफाई र खुल्ला थियो र ? जताततै वनमारा र अन्य बोटविरुवाको घारी थियो’, उनले विगत सम्झिए, ‘ओढ्ने ओच्छ्याउने पनि थिएन, सेउला ओच्छ्याएर एक्लै सुत्नु हुन्थ्यो।’ उनले त्यतिबेला भूमिगत हिँडेका नेतालाई सेल्टर दिएको थाहा पाएको भए प्रशासनले आफ्नो परिवार नै सिध्याउन सक्ने उनको भनाइ छ। तर, पनि जोखिम मोलेर आफूले पनि परिवर्तनका खातिर देश र जनताका लागि सहयोग गरेको उनले स्मरण गरे। ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारी नेपाली राजनीति वृत्तमा निकै लोकप्रिय नाम हो। सादा जीवन उच्च विचारका साथ राजनीति यात्रामा प्रवेश गरेका उनको राजनीति यात्रा लामो रहे पनि नेतृत्वदायी भूमिका सिरहा र उदयपुरको सीमास्थलबाट सुरु भएको इतिहास भेटिन्छ।

सुनवारको घरबाट सुरु भएको दस्तावेज भेटिन्छ। यो भूगोल उदयपुर र सिरहाको सीमा विवाद चुरे क्षेत्र पनि हो। त्यही भुगोल जुनमा तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन २०४६ भदौ ९ देखि १४ गतेसम्म भूमिगत तवरबाट भयो। अन्ततः नेतृत्व भण्डारीको काँधमा आयो। महासचिव पदमा निर्वाचित भएसँगै भण्डारीले प्रदिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई अवधारणाको रूपमा लैजाने निर्णय सुरु भएको पाइन्छ।

तीन दशकअघि नेपालमा तानाशाही शासकहरूले कम्युनिष्ट पार्टीमाथि कडा प्रतिबन्ध लगाएपछि नेताहरू सुरक्षित स्थानको खोजीमा थिए। प्रतिबन्धित अवस्थामा नेता कार्यकर्ता धरपकट हुने सम्भावना भएपछि चुरे जंगलबीचको सर्रेआम्बासीलाई नेताहरूले सुरक्षित स्थान ठानी अधिवेशनस्थल बनाएको सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टीका नेता उत्तरबहादुर मगरले बताए। बलबहादुरको घर पहिलादेखि नै नेताहरूको सेल्टर (लुकीछिपी बस्ने र भेटघाट स्थल) थियो।

त्यही बसेर पञ्चायती व्यवस्थाको अन्त्यका लागि विभिन्न खालका योजना बनाउने, पार्टीको नयाँ रणनीति, बैठक गर्ने ठाउँका रूपमा रहेको उनको भनाइ छ। ‘सुरक्षाको दृष्टिकोणले चौथो महाधिवेशन स्थलका रूपमा नेताहरूको रोजाइमा तत्कालीन सिरहाकै फुलवरियाकट्टी गाविस ६ मोतियाही थियो’, मगरले भने। तर काठमाडौंबाट आउनेक्रममा नेताले कार्यक्रम स्थल लगायतका महत्वपूर्ण निर्णय, दस्तावेजहरू बाटोमा झारेपछि प्रहरीले कागजात फेला पारेमा खतरा आइलाग्यो। ‘खतरा हुन सक्ने भन्दै सम्भावित हुन सक्ने खतरालाई जोगाउन स्थान परिवर्तन गरिएको हो’, उनले भने। त्यो कागजात प्रहरीले फेला पार्‍यो भने सबै नेताहरू एकैसाथ गिरफ्तार हुने खतरा रहेकाले सारिएको हुन सक्ने उनले बताए। ‘मदन भण्डारी, सिपी मैनाली, प्रदीप नेपाल लगायतका ५०/६० जना नेता आएर सात दिन लगाएर महाधिवेशन र बैठक गरेका थिए’, नेतालाई सेल्टर दिएर राखेको बलबहादुरले सुनाए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्