सर्लाहीमा गोली चल्दा १८ जना घाइते



जनकपुरधाम : सर्लाहीमा नेपाली कांगेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच झडप हुँदा गोली चलेको छ ।

जिल्लाको धनकौल गाउँपालिकामा हिजो (आइतबार) साँझ उनीहरु बीच झडप भएको हो ।

दुई पक्षबीचको झडपले उग्ररुप लिएपछि गोली चलेको र गोलीको छर्रा लागेर १८ जना व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । उनले दिएको जानकारी अनुसार झडपमा परी दुुई जना प्रहरी समेत घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले भने–‘हामीले रामनगर गाउँपालिकामा आफ्ना कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ मसाल जुलुस निकालेका थियौ । त्यसैक्रममा कांग्रेसका केहिँ कार्यकर्ताहरु आएर अचानक गोली चलाएका थिए ।’ आफ्ना एक दर्जन बढी कार्यकर्तालाई गोलीको छर्रा तथा लठी प्रहारबाट घाइते भएको उनले बताए ।

यता नेकपाका कार्यकर्ताले पहिले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेस सर्लाहीले आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुस कांग्रेस कार्यकर्ता धिरु वर्माको घर अगाडि पुगेपछि टायर बाल्नुको साथै कुटपिट समेत गरेको कांग्रेसका नेता वीरेन्द्र सिंहले बताए । उनले नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना ६ जना कार्यकर्ता घाइते भएको दाबी समेत गरेका छन् ।

घटनामा परि घाइते भएकाहरुको सर्लाहीको बरहथवा तथा वीरगञ्जका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्