चोरीका ८ वटा मोटरसाइकलसहित १२ जना पक्राउ (विवरणसहित)



धनगढीः प्रहरीले मोटरसाईकल चोरी र कागजात किर्ते प्रकरणमा संलग्न यातायातका कर्मचारीसहित १२ जनालाई गरेको छ ।

२ जना यातायातका कर्मचारीसहित १२ जनालाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको हो । यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराईलाई प्रहरीले पक्रेको छ ।

कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं.४ का ३५ वर्षिय बहादुर राना, बेतकोट नगरपालिका वडा नं.६ का ३५ वर्षिय राज कुमार राना, सोही ठाउँका २५ वर्षिय हरेन्द्र राना, ३० वर्षिय सुबेश राना, लालझाडी गाउपालिका वडा नं.१ का ४२ वर्षिय रामनिवास राना, शुक्लाफाँटा नगरपालिका वडा नं.१२ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नं.३ मिलन चोक बस्ने २७ वर्षिय श्याम राना, कञ्चनपुर बेतकोट नरपालिका वडा नं.६ का २८ पर्षिय रामलाल राना, बेतकोट नगरपालिका ५ का १८ वर्षिय प्रदिप राना, बेतकोट नगरपालिका वडा नं.५ का २७ वर्षिय लक्ष्मी रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘मोटरसाईकल चोरी गरी नक्कली कागजातसमेत बनाई त्यस्ता मोटरसाईकल किनबेच तथा प्रयोग गर्दै गरेको भन्ने विशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा विशेष अप्रेसन संचालन गरिएको थियो, गिरोहमा संलग्नलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ । विभिन्न कम्पनीका मोटरसाईकल र नक्कली बिलबुकहरुसमेत बरामद गरीएको छ’-प्रहरीले भन्यो ।

उनीहरु कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा मोटरसाईकल चोरीमा संग्लन रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नक्कली सवारी दर्ता किताबसहित ८ वटा चोरीका मोटरसाईकल बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्