धार्चुलाको पानी दार्चुलामा



बैतडी : भारतले सोमबार राति धौलागंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि नेपाल उच्च जोखिममा पर्ने भएको छ ।

उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध आज राति १२ बजेदेखि मंगलबार बेलुका ६ः४५ बजेसम्म खोलिने एनएचपिसी लिमिटेड धौलीगंगा पावरस्टेसन धार्चुलाले जनाएको छ ।

बाँध खोलेपछि नेपालको दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएको छ । पानीको बहाव बढ्ने भएपछि उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाउन नेपाल र भारतको स्थानीय प्रशासनले आग्रह गरेको छ ।

परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाई गर्नुपर्ने भन्दै बाँध खोल्ने गरेको छ । बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने र तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन् ।

महाकालीको तटीय क्षेत्रमा पर्ने बैतडीको सेरादेखि कुस्मा घाटसम्मका नागरिकलाई नदी आसपास नजान अनुरोध गरिएको छ । दार्चुलाको व्यास गाउँपालिका–५, धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले स्थानीयवासीलाई आग्रह गरेका छन् ।

२८० मेगावाट जल विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना दिन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ । विसं २०७० मा धौलीगंगाको बाँधकै कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति भएको थियो ।

प्रकाशन : असार १५, २०७७

प्रतिक्रिया दिनुहोस्