नागरिकता विधेयकको विरोधमा कांग्रेसद्वारा जनकपुरमा प्रदर्शन



जनकपुरधामः नेपाल कम्यूनिष्ट पार्टी (नेपका) नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली कांग्रेसले आज (सोमबार) जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा नेतृत्वको सरकारको महिला विरोधी विभेदपूर्ण विधेयक विरुद्ध जिल्ला सभापति महेश शंकर गिरीको नेतृत्वमा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट विरोध रयाली निकालिएको थियो । पार्टी कार्यालयबाट निकालिएको विरोध रयाली क्याम्पसचोक, मुरलीचोक, रामचोक, जनकचोक हुँदै भानुचोकमा गई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै पार्टी सभापति गिरीले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाएका थिए । राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय भएकोप्रति उनले असन्तुष्टि जनाए । राज्य व्यवस्था समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरितको गतिविधि भएको दावी गर्दै उनीले यसबाट अनेक शंका उब्जाएको उल्लेख गरेका थिए । विरोध सभामा सहभागीहरुले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

प्रदर्शनको क्रममा रयालीमा सहभागीहरुले बैबाहिक अंगिृकत नागरिकताको ७ वर्षे प्रावधान खारेज गर,महिलामाथिको विभेद अन्त्य गर,बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथीको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए ।

विरोध रयालीमा पूर्व सांसद चन्द्रमोहन यादव,प्रदेशसभा सदस्य सरस्वती चौधरी, क्षेत्रिय सभापति कन्हैया लाल कर्ण, क्षेत्र नम्बर ३ ९(क) का सभापति दिनेश दिपक, क्षेत्र नम्बर ३ ९ख० का सभापति शिवजी राय, जिल्ला उपसभापति संतोष यादव, कांग्रेस नेता गणेश तिवारी, जिवनाथ चौधरी, क्षिरेश्वर नगरपालिकाका मेयर समेत रहेका क्षेत्र नम्बर ४ का सभापति योगेन्द्र पजियार,महिला नेतृहरु निलम कर्ण, विजेता झा, रिंकु साह, गीता भण्डारी, तरुण दलका जिल्ला अध्यक्ष संजय लाभ कर्ण, सुजित मिश्रा, तरुण दलका उपाध्यक्ष राकेश विक्रम साहलगायत करिव दुई सयको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्